१० श्रावण २०८३, आइतबार

किन पक्राउ परे बिहारका पूर्वमन्त्री तेजप्रताप यादव ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको बिहार प्रदेशका पूर्वमुख्यमन्त्री लालु यादवका जेठा छोरा पूर्वमन्त्री तेजप्रताप यादव पक्राउ परेका छन् ।

हिजो शनिबार साँझ पक्राउ परेका उनलाई हिजै १४ दिनका लागि न्यायिक हिरासतमा पटनाको बेउर जेल पठाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पटना प्रहरीले साँझ डाक बंगला क्रसिङ नजिकैको एक मलबाट तेजप्रतापलाई पक्राउ गरेको थियो ।

‘बिहार बन्द’को आह्वानका क्रममा तेजप्रताप यादव प्रदर्शनकारीहरूसँगै सडकमा उत्रिएका थिए । यस घटनाको सम्बन्धमा उनीविरुद्ध एफआईआर दर्ता भएको थियो ।

यादवका समर्थकहरूले पटना प्रहरीले उनीसम्बन्धी जानकारी लुकाएको बताएका थिए । उनीहरूले प्रहरी चौकीमा उनलाई कुन अभियोगमा हिरासतमा राखिएको हो भन्नेबारे समेत आफूहरूलाई जानकारी नदिइएको बताएका थिए ।

यसैबीच, यादवका वकिल जगन्नाथ सिंहले सोमबार उनको तर्फबाट धरौटीसम्बन्धी निवेदन दर्ता गरिने बताएका छन् ।

पटनाको रामगुलाम गान्धी मैदान क्षेत्रमा विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा तेजप्रताप यादव पनि आन्दोलनरत विद्यार्थीहरूसँग सामेल भएका थिए ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा तेजप्रतापले भनेका थिए, ‘म विद्यार्थीहरूको साथमा छु र उनीहरूका लागि ज्यान दिन पनि तयार छु ।’

तेजप्रताप जनशक्ति जनता दलका अध्यक्ष पनि हुन् ।