नैरोबी । प्रजातान्त्रिक गणतन्त्र कंगोमा हालै फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको संख्या १ हजार ३०९ नाघेको छ । एक प्रमुख जनस्वास्थ्य परामर्शदाताले कंगोमा यो भाइरस स्पेन र फ्रान्समा झै नियन्त्रण बाहिर रहेको ‘डढेलोझैँ फैलिरहेको’ बताएका छन् ।
शनिबार सरकारद्वारा सार्वजनिक अद्यावधिक तथ्याङ्क अनुसार, बिहीबारसम्ममा पुष्टि भएका सङ्क्रमितहरूको कुल संख्या अर्थात मृतकहरू समेत गरी २ हजार ९७३ पुगेको छ । यो अघिल्लो शनिबारको तथ्याङ्कको तुलनामा २७ प्रतिशतको वृद्धि भएको अधिकारीहरूले बताएका छन् ।
संक्रमणका घटना र मृत्युको संख्यामा भइरहेको अभूतपूर्व वृद्धिले कंगोमा देखिएको महामारीलाई अहिलेसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिने इबोला प्रकोप बनाएको छ । यस जोखिमलाई अझ बढाउने अर्को पक्ष भनेको कंगोमा फैलिरहेको भाइरस ‘बुन्डिबुग्यो’ हो । यो मानिसमा असर गर्ने इबोलाका चार प्रकारमध्ये सबैभन्दा दुर्लभ हो र हालसम्म यसका लागि कुनै पनि स्वीकृत खोप वा उपचार विधि उपलब्ध भएको छैन ।
अफ्रिकी युनियनको जनस्वास्थ्य निकाय अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन स्थापना गर्न सहयोग पुर्याएका जनस्वास्थ्य परामर्शदाता अब्दुलसलामी नासिदीले अल जजिरालाई बताए अनुसार प्रमाणित खोपको अभावका कारण यो भाइरस कंगोमा डढेलो झैँ फैलिरहेको छ ।
नासिदीका अनुसार यो महामारी सक्रिय द्वन्द्व चलिरहेको क्षेत्रमा फैलिरहेको छ, जसले गर्दा प्रकोपको सामना गरिरहेका अफ्रिकी सरकारहरूमा सामान्यतया देखिने जनस्वास्थ्य स्रोतसाधनको अभावको समस्या अझ जटिल बनेको छ ।
वैज्ञानिकहरू महामारीको गति कम गर्ने उपाय पत्ता लगाउन तीव्र गतिमा काम गरिरहेका छन् र अक्सफोर्ड विश्वविद्यालयको ‘अक्सफोर्ड भ्याक्सिन ग्रुप’ले जनाए अनुसार शुक्रबार एक स्वयंसेवकले द्रुत गतिमा विकास गरिएको प्रयोगात्मक खोपको पहिलो मात्रा प्राप्त भने गरेका छन् ।
‘यो परीक्षणका लागि एउटा महत्त्वपूर्ण कोशेढुङ्गा हो र यसले ‘बुन्डिबुग्यो इबोला भाइरस’ विरुद्धको खोप विकास गर्ने हाम्रो बहुराष्ट्रिय सहयोगात्मक यात्राको अर्को चरणको सुरुवात गर्छ,’ अक्सफोर्ड टोलीकी प्रमुख अनुसन्धानकर्ता क्याट्रिना पोलकले भनिन् ।
इतिहासकै सबैभन्दा ठूलो र घातक इबोला महामारीले सन् २०१३ देखि २०१६ को बीचमा मुख्यतया पश्चिम अफ्रिकाका गिनी, लाइबेरिया र सियरा लियोनमा कम्तिमा २८ हजार संक्रमितमध्ये ११ हजार भन्दा बढी मानिसहरूको ज्यान लिएको थियो । त्यो महामारीमा पहिलो १ हजार जनाको मृत्यु हुन करिब ८ महिना लागेको थियो ।
कंगोमा देखिएको पछिल्लो महामारीमा भने १० हप्ताभन्दा कम समयमै यति धेरै मानिसको मृत्यु भइसकेको छ, जो कल्पना र नियन्त्रण भन्दा बाहिर रहेको छ ।
‘हामीले अहिले नै कदम चाल्नुपर्छ,’ अफ्रिका सीडीसीका महानिर्देशक जीन कासेयाले गत हप्ता एक्समा लेखेका थिए, ‘यदि हामीले यसलाई आजै रोकेनौँ भने यो विश्वले अहिलेसम्म देखेको सबैभन्दा खराब महामारी बन्नेछ ।’







प्रतिक्रिया