९ श्रावण २०८३, शनिबार

छिन्नलता गीत रचना पुरस्कार डा. लम्साललाई

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यसवर्षको छिन्नलता गीत रचना पुरस्कार डा. नवराज लम्साललाई प्रदान गरिएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले लम्साललाई सम्मानपत्र र नगद पुरस्कार प्रदान गरेका हुन् ।

त्यसैगरी, सङ्गीततर्फ किरण कँडेललाई प्रदान गरिएको छ भने गायनतर्फको पुरस्कार बिमला राईलाई प्रदान गरिएको छ । साथै, युवा प्रतिभातर्फको छिन्नलता पुरस्कार गायिका सारिका घिमिरेलाई प्रदान गरिएको छ ।

त्यस्तै, छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गरेको थियो ।

पुरस्कार वितरण कार्यक्रममा सभामुख अर्यालले सर्जक, रचनाकार र स्रष्टाहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गर्ने वातावरण बनाउनु राज्य र समाज दुवैको साझा दायित्व भएको बताए । नयाँ पुस्तामा नेपाली भाषा, मौलिक संस्कृति, संगीत र सिर्जनाप्रति रुचि जगाउनु आजको मुख्य आवश्यकता रहेको उनको भनाइ छ ।

त्यस्तै, सभामुख अर्यालले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक संसदीय समितिमा दफावार छलफलको क्रममा रहेको भन्दै यस विधयेकमा नेपालका विभिन्न जाति, भाषा, धर्म र समुदायका मौलिक परम्परा, ज्ञान, सीप, कला र सांस्कृतिक अभिव्यक्तिको संरक्षण, अभिलेखीकरण र प्रवर्धन गर्ने बिषय उल्लेख गरिएको जानकारी दिए । सांस्कृतिक सम्पदाको गैरकानुनी वा उल्लङ्घनकारी प्रयोग रोक्न कानुनी कारबाही र दण्ड सजायको व्यवस्था समेत विधेयकमा उल्लेख रहेको उनको भनाइ छ ।

सभामुख अर्यालले विधेयकले लोपोन्मुख सम्पदाको संरक्षण, युनेस्को सूचीकरणको आधार निर्माण, सांस्कृतिक पर्यटन, सिर्जनात्मक उद्योग र रोजगारी प्रवर्धनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको धारणा राखे ।

Skip This