१० श्रावण २०८३, आइतबार

भारतमा भएको प्रदर्शनमाथि बल प्रयोगबारे सर्वोच्च अदालतले सुनुवाइ गर्ने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय सर्वोच्च अदालतले परीक्षा प्रश्नपत्र चुहावटको विरोधमा जन्तर मन्तर तथा देशका विभिन्न स्थानहरूमा प्रदर्शन गरेका विद्यार्थीहरूमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोपसम्बन्धी निवेदनमाथि जुलाई २७ मा सुनुवाइ गर्ने सहमति जनाएको छ ।

उक्त विषयलाई प्रधानन्यायाधीश सूर्य कान्त तथा न्यायाधीशहरू जॉयमल्या बागची र भी. मोहन सम्मिलित इजलाससमक्ष वरिष्ठ अधिवक्ता गोपाल शङ्कर नारायणनले प्रदर्शनकारीमाथि भएको भनिएको हिंसासम्बन्धी दुईवटा निवेदन दर्ता भएको जानकारी दिए ।

शङ्कर नारायणनले ती निवेदनहरू विद्यार्थी प्रदर्शनका क्रममा भएको भनिएको प्रहरी हिंसासँग सम्बन्धित रहेको र त्यसमा विभिन्न राज्यहरूलाई पक्षकार बनाइएको बताए । उनले ती निवेदनहरू यसअघि उल्लेख नगरिनुको कारण तिनले दर्ता नम्बर प्राप्त गर्ने प्रक्रियामा रहेको बताए ।

उनले मुद्दाको तत्काल सुनुवाइ आवश्यक रहेकोमा जोड दिँदै विद्यार्थीहरूमाथि प्रहरीले अत्यधिक बल प्रयोग गरिरहेको समाचारहरू निरन्तर आइरहेको र त्यसलाई रोक्न अदालतको तत्काल हस्तक्षेप आवश्यक रहेको बताए ।

उनको भनाइलाई ध्यानमा राख्दै प्रधानन्यायाधीशले निवेदनहरू सुनुवाइका लागि स्वीकार गर्ने सहमति जनाउँदै सोमबारका लागि सूचीमा राख्न निर्देशन दिएका छन् । प्रधानन्यायाधीशले भने, ‘यसलाई सूचीमा राख्नुहोस्, हामी सुनुवाइ गर्नेछौँ ।’

जुलाई २० मा संसदतर्फ गरिएको आन्दोलन र ककरोच जनता पार्टीले जन्तर मन्तरमा हप्तौँसम्म गरेको प्रदर्शन र आमरण अनशन गरेको थियो । उक्त प्रदर्शनमा हजारौँ विद्यार्थी सहभागी भएका थिए । उनीहरूले परीक्षा प्रश्नपत्र चुहावटको आरोपका कारण केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै संसदतर्फ प्रदर्शन गर्ने प्रयास गरेका थिए ।

प्रदर्शनकारीहरूले संसदतर्फ अघि बढ्ने क्रममा केन्द्रीय दिल्लीमा राखिएका प्रहरीका विभिन्न अवरोध (ब्यारिकेड) तोड्ने प्रयास गरेपछि सुरक्षा निकायले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको र लाठीचार्ज गरेको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका धेरै भिडियोहरूमा प्रदर्शनकारीहरूलाई प्रहरीले दुर्व्यवहार गरेको देखिएको दाबी गरिएको थियो । तर, दिल्ली प्रहरीले आफ्नो कारबाहीको बचाउ गर्दै भीडका केही समूह हिंसात्मक बनेर ढुंगामुढा गर्न थालेपछि मात्र बल प्रयोग गरिएको जनाएको छ ।

त्यस्तै, दिल्लीको जन्तर–मन्तरमा जुलाई २० मा भएको विद्यार्थी प्रदर्शनका क्रममा प्रहरीले पेलेट गन प्रयोग गरेको जनाइएको छ ।

अस्पतालको चिकित्सकीय प्रतिवेदनले एक प्रदर्शनकारीको शरीरमा पेलेटका चोट देखिएको उल्लेख गरेपछि आरोप पुष्टि भएको बताइएको छ । एएनआइ