१० श्रावण २०८३, आइतबार

फिल्म ‘हली’को ट्रेलरमा के छ ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यही साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को ट्रेलर रिलिज भएको छ । शुक्रबार निर्माण टिमले एक कार्यक्रमको आयोजना गरी ट्रेलर रिलिज गरेको हो ।

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत रिलिज भएको ट्रेलरमा छाउप्रथामा आधारित यो कथाले महिनावारी हुँदा स्कुल पढाउनु हुँदैन भन्दै स्कुल नपठाएको ट्रेलरमा देख्न सकिन्छ । साथै, २१ दिनसम्म बुवा र छोरा मान्छेको मुहार हेर्न हुन्न भन्ने कथा देख्न सकिन्छ ।

ट्रेलर रिलिज कार्यक्रममा निर्माता पूजा गुरुङले यो फिल्म वास्तविक कथामा निर्माण भएको बताइन् । उनले एउटा हलीले नै देशको मुहार फेर्न सकिने भन्दै आफ्नो भनाई राखिन् । पूजाले भनिन्, ‘देश परिवर्तन गर्नका लागि एउटा हली काफी छ है । यहाँ नेताले भाषण गर्दैमा मात्रै देश परिवर्तन हुँदैन ।’

निर्देशक ओम प्रतिकले मस्तिष्क चेतनालाई फराकिलो बनाइयो भने पढाइमा पिएचडी गर्नु नपर्ने बताए । उनले भने, ‘पश्चिम क्षेत्रमा महिनावारी हुँदा पहिलोपटक छाउप्रथामा राख्ने गरिने रैछ । त्यहीँ यथार्थ कथामा यो फिल्म निर्माण गरेका हौँ । चेतनालाई फराकिलो रुपले हेरियो भने पढाइमा पिएचडी गर्नै पर्दैन ।’

पूजा गुरुङ र जस्मिन श्रेष्ठले निर्माण गरेको यो फिल्मलाई प्रतिकले लेखन तथा निर्देशन गरेका हुन् ।

फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय रहेको छ । साथै, स्वयम् निर्देशक ओम प्रतीक पनि मुख्य भूमिकामा छन् ।

यस फिल्मको एउटा प्रमोसनल गीतमा अभिनेत्री दीपाश्री निरौला, पूजा शर्मादेखि मिथिला शर्मासम्मले अभिनय गरेका छन् । जुन दर्शकमाझ निकै लोकप्रिय पनि बन्यो । यो गीतले पनि दर्शकलाई आकर्षण गर्न सक्छ भन्ने कुरा निर्माण पक्षको भनाई छ ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायु फिल्मस्को सहकार्यमा निर्माण भएको यस फिल्मको कथा क्रान्तीकारी शैलीको छ । जहाँ देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी हुन्छ भन्ने सन्देश दिने निर्माण पक्षको छ ।

यस फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ । जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको मुख्य गीतमा संगीतकार गिरी र गायिका शान्ति श्री परियारको दमदार स्वर रहेको छ ।

फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन् ।

राहुल राईको छायांकन रहेको यस फिल्मलाई रामप्रसाद चौधरी र विपिन मल्लले सम्पादन गरेका हुन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ ।

नेसनल सिने ग्रुप प्रालिले वितरण गर्न लागेको यस फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।