९ श्रावण २०८३, शनिबार

नामकै कारण दिल्लीमा नाजिर हुसेनमाथि दोस्रोपटक केरकार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता नाजिर हुसेनले दिल्ली एयरपोर्टमा भारतीय सुरक्षाकर्मीले आफूलाई बिनाकारण विशेष कक्षमा लगेर सोधपुछ गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

उनले आफ्नो पूरा नाम ‘मोहम्मद नाजिर हुसेन’ भएकै कारण आफूलाई शंकाको दृष्टिले हेरेर पटक–पटक केरकार गरिएको हुनसक्ने आशंका व्यक्त गरेका हुन् ।

फेसबुकमा लेख्दै नाजिरले भारतमा रहेको नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा आफ्नो चलचित्र ‘गुन्यु चोली’को विशेष प्रदर्शनमा सहभागी भएर नेपाल फर्किने क्रममा आफूलाई विशेष सुरक्षा कक्षमा लगेर सोधपुछ भएको उल्लेख गरे ।

उनका अनुसार उनीसँगै निर्देशक समुन्द्र भट्ट र जनकदीप पराजुली पनि थिए ।

उनीहरूलाई कुनै सोधपुछ नगरिए पनि आफूलाई भने छुट्टै कक्षमा लगेर ‘नेपाल किन जान लागेको ?’, ‘कति पैसा छ ?’जस्ता प्रश्न सोधिएको नाजिरले बताए ।

नाजिरले आफू नेपाल आफ्नो घर फर्किरहेको र आफूसँग भारतीय मुद्रा नभएको जानकारी दिएको बताए । त्यसपछि भारत किन गएको भन्नेबारे पनि सुरक्षाकर्मीलाई जानकारी गराएको उनले बताए ।

यसअघि पनि यस्तै अनुभव भइसकेकाले यसपटक आफूले सुरक्षाकर्मीसँग ‘मलाई किन विशेष कक्षमा ल्याइयो ?’ भनेर प्रश्न गरेको तर ‘कोही बात नहीँ’ भन्ने जवाफ मात्र पाएको उनले बताए । उक्त जवाफले आफ्नो जिज्ञासाको समाधान नगरेको उनको भनाइ छ।

उनले फेसबुकमा लेखेका छन्, “यदि मेरो नामको कारणले हरेक पटक रोकिन्छु, अनि विशेष कक्षमा लगेर केरकारमा पर्छु भने यो गलत हो । यदि होइन भने, मैले कारण थाहा पाउनु पर्छ ।”

पासपोर्ट स्क्यान गर्दा यात्रुसम्बन्धी विवरण सिस्टममा देखिने भएकाले आफूलाई किन बारम्बार केरकार गरिएको हो भन्ने स्पष्ट जवाफ दिन उनले माग गरेका छन् ।

नाजिरले यो दोस्रोपटक यस्तो अनुभव बेहोरेको उल्लेख गर्दै यसको कारणबारे जानकारी गराइदिन सार्वजनिक रूपमा सहयोगको अपिल समेत गरेका छन् ।

Skip This