१० श्रावण २०८३, आइतबार

रणवीर र साई पल्लवीको ‘रामायण’को ट्रेलर रिलिज रोकियो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । रणवीर कपुर र साई पल्लवीको अभिनय तथा नमित मल्होत्राको निर्माण रहेको बहुप्रतिक्षित चलचित्र ‘रामायण’को ट्रेलर जुन आज, जुलाई २४ मा विश्वभर रिलिज हुने तय थियो, अब पूर्वघोषित अनुसार रिलिज नहुने भएको छ ।

भारतमा जारी विद्यार्थी आन्दोलनका कारण यो निर्णय लिइएको मानिएको छ । अब यो ट्रेलर अर्को हप्ता ‘स्पाइडर म्यानः ब्रान्ड न्यु डे’सँगै रिलिज गरिने भएको छ ।

सान डिएगो कमिक कन २०२६ बाट चलचित्र ‘रामायण’का सम्बन्धमा एउटा महत्त्वपूर्ण जानकारी सार्वजनिक भएको छ । प्यानल सुरु हुनुभन्दा केही मिनेट अघि मात्र निर्माता नमित मल्होत्राले चलचित्रको ट्रेलर अब २४ जुलाईमा विश्वभर सार्वजनिक नगरिने घोषणा गरे । कमिक कनमा चलचित्रको ‘फर्स्ट लुक’ सार्वजनिक भएपछि अनलाइनमार्फत ट्रेलर आउने प्रतीक्षामा रहेका प्रशंसकहरूका लागि यो घोषणा आश्चर्यजनक रह्यो ।

नमित मल्होत्राले सामाजिक सञ्जालमा लेखे, ‘आज ‘रामायण’का लागि निकै विशेष दिन हो । सोनी पिक्चर्स इन्टरटेनमेन्टसँगको सहकार्यमा यो चलचित्रलाई विश्वभर पुर्‍याउने हाम्रो सपना अब साकार हुँदैछ ।’ उनले चलचित्रको ट्रेलर अब नयाँ मितिमा विश्वव्यापी रूपमा सार्वजनिक गरिने घोषणा पनि गरे।

उनले बताए कि यो भारतीय चलचित्रको इतिहासमा गर्वको क्षण हुनेछ किनकि पहिलो पटक ‘रामायणम’ जस्तो भारतीय कथालाई हलिउडको ठूलो चलचित्रको स्तरमा सम्पूर्ण विश्व सामु प्रस्तुत गरिनेछ । उनको विश्वास छ कि यसले विश्वभरका मानिसहरूलाई भारतको संस्कृति र पौराणिक कथाहरूलाई नयाँ दृष्टिकोणबाट बुझ्ने अवसर प्रदान गर्नेछ ।

यद्यपि, नमित मल्होत्राले ट्रेलर स्थगन गर्नुको कारण स्पष्ट रूपमा खुलाएका छैनन् तै पनि यो निर्णय यस्तो समयमा आएको छ जब भारतमा भइरहेका विद्यार्थी आन्दोलनले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरिरहेका छन् । फलस्वरूप, सामाजिक सञ्जालमा मानिसहरू विभिन्न किसिमका अड्कलबाजी गरिरहेका छन् ।