९ श्रावण २०८३, शनिबार

पक्राउबाट बच्न एक व्यक्तिले रचे आफ्नै मृत्युको ‘नक्कली नाटक’, प्रहरीद्वारा अनौठो योजनाको खुलासा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ । जेल सजायबाट बच्न एक चिनियाँ व्यक्तिले यस्तो योजना बनाए कि जसले प्रहरीलाई समेत चकित पारिदियो ।

उनले आफ्नो मृत्युको नाटक गरे, शव राख्ने बाकस अर्थात कफिन किने, घरमै आत्महत्या गरेको जस्तो दृश्य खडा गरे र परिवारको सहयोगमा आफ्नो अन्त्येष्टि समेत गराए । तर, केही सानातिना गल्तीहरूले उनको सम्पूर्ण योजना विफल बनाइदिए र अन्ततः उनी प्रहरीको फन्दामा परे ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार यो घटना चीनको हेनान प्रान्तस्थित अन्याङ सहरमा भएको हो । सि को रूपमा पहिचान गरिएका ती व्यक्तिलाई गत जनवरीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको आरोपमा पक्राउ गरिएको थियो । अनुसन्धानबाट यो पनि खुल्यो कि उनी यसअघि दुई पटक मादक पदार्थ सेवन गरी सवारी चालक अनुमतिपत्र बिना नै गाडी चलाउँदा पक्राउ परेका थिए ।

त्यसपछि अनुसन्धान पूरा नभएसम्मका लागि उनलाई धरौटीमा रिहा गरियो । चिनियाँ कानुनअनुसार मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु गम्भीर अपराध मानिन्छ, जसका लागि एकदेखि ६ महिनासम्मको जेल सजाय, जरिवाना र सवारी चालक अनुमतिपत्र खारेज हुने व्यवस्था छ ।

भारी ऋण र विचाराधीन कानुनी मुद्दाहरूका कारण जेल पर्दा आफ्नो जीवन पूर्ण रूपमा बर्बाद हुने डर आरोपीलाई थियो । यही डरका कारण उनले आफ्नो मृत्युको नाटक गर्ने योजना बनाए । गत वर्षको जुन महिनामा उनले पहिले नै एउटा शव बाकस खरिद गरे । त्यसपछि उनले अत्यधिक मात्रामा औषधि सेवन गरी आत्महत्या गरेको जस्तो देखाउन घरभरि औषधिका खाली बोतलहरू छरपस्ट पारे ।

प्राप्त जानकारी अनुसार, उनले मृत्यु भएको जस्तो भान पार्न सास रोक्ने र शरीरको तापक्रम घटाउने जस्ता उपायहरू अपनाएका थिए । परिवारले अत्यधिक औषधिका कारण उनको अनुहार कुरुप भएको कथा बनाए, जसका कारण शवलाई कपडाले छोपिएको थियो । अभियुक्तकी आमा र हजुरआमाले साँझ पर्नुअघि नै हतार हतार शव बाकस गाडे ।

यसैबीच, आरोपी सि भने युनान प्रान्तमा भागेर गए र नयाँ परिचयका साथ काम खोज्न थाले । जब प्रहरीले उनको मृत्युबारे जानकारी पायो, अधिकारीहरू घटनास्थलमा पुगे तर त्यतिन्जेलसम्ममा ती व्यक्तिको भनिएको शव गाडि सकिएको थियो । गाउँले र आफन्तहरूले पनि कसैलाई पनि शव नदेखाइएको बताए, केवल उनकी आमा र हजुरआमाले मात्र शव देखेको दाबी गरे । त्यसपछि प्रहरीले सीसीटीभी फुटेज, बैंक कारोबार र मोबाइल फोनका विवरणहरूको जाँच गर्न थाल्यो । अनुसन्धानबाट आरोपी जीवितै रहेको र लुक्नका लागि युनान भागेको कुरा खुल्यो । महिनौं लामो खोजीपछि प्रहरीले उनलाई यसै वर्षको अप्रिलमा पक्राउ गर्‍यो ।

पक्राउ परेपछि अदालतले ती व्यक्तिलाई पाँच महिनाको जेल सजाय र २० हजार युआन अर्थात चार लाख ४८ हजार नेपाली रुपैयाँ बराबरको जरिवानाको फैसला सुनायो । यसका साथै ११ जुनमा प्रहरीले अपराधीलाई आश्रय दिएको र कानुनको दायराबाट उम्कन सघाएको आरोपमा उनकी आमा र हजुरआमाविरुद्ध फौजदारी अनुसन्धान सुरु गर्‍यो ।

यो घटना चिनियाँ सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भयो र विभिन्न रिपोर्टका अनुसार यो घटनासम्बन्धी सामग्री १ करोडभन्दा बढी पटक हेरिएको छ ।

Skip This