ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले आफ्नो पाँच वर्षे कार्यकाल पूरा हुनुभन्दा करिब दुई वर्षअघि नै राजीनामा दिनसक्ने सम्भावना देखिएको छ ।
विभिन्न स्रोतहरूलाई उद्धृत गर्दै बंगलादेशी सञ्चारमाध्यमहरूमा यस्तो दाबी गरिएको छ ।
शहाबुद्दिनले सन् २०२३ को अप्रिलमा राष्ट्रपतिको पदभार सम्हालेका थिए तर सन् २०२४ को जुलाई–अगस्टमा भएको विद्यार्थी आन्दोलनपछि अवामी लिगको सरकार सत्ताबाट बाहिरियो ।
उक्त आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई देश छोड्न बाध्य बनायो । फलस्वरूप, अवामी लिग सरकारको कार्यकालका संवैधानिक पदाधिकारीहरू मध्ये शहाबुद्दिन मात्र यस्ता व्यक्ति हुन्, जसले हालसम्म आफ्नो पद कायम राखेका छन् ।
पछिल्ला दुई दिनयता उनको राजीनामासम्बन्धी अड्कलबाजी तीव्र बनेको छ । बंगलादेशका विभिन्न सञ्चारमाध्यमले राष्ट्रपति पदमा शहाबुद्दिनको निरन्तरता प्रति वर्तमान सरकार सहज नरहेको समाचार प्रकाशित गरेका छन् ।
प्रथम आलो पत्रिकाले एक उच्च सरकारी अधिकारीलाई उद्धृत गर्दै जनाए अनुसार शेख हसिनासँग पुनः सम्पर्क स्थापित गर्ने राष्ट्रपतिको हालैको प्रयासप्रति सरकार असन्तुष्ट छ ।
यसैबीच, द डेली स्टारले एक वरिष्ठ बीएनपी नेतालाई उद्धृत गर्दै जनाए अनुसार शहाबुद्दिन र शेख हसिनाबीच भएको भनिएको टेलिफोन वार्ता राजीनामाको एक मात्र कारण होइन । ती नेताका अनुसार डिसेम्बरमा बंगलादेश फर्कने शेख हसिनाको घोषणा पछि मुलुकको राजनीतिक वातावरण निकै संवेदनशील बनेको छ ।










प्रतिक्रिया