१० श्रावण २०८३, आइतबार

तेलको मूल्यमा भारी वृद्धि, मेयता पहिलोपटक प्रतिब्यारेल १०० डलर पुग्यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मध्यपूर्वमा चर्कँदो द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिबारे चिन्ता पुनः बढाएसँगै मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकन डलर पुगेको छ ।

इरानविरुद्ध अमेरिकाले सैन्य आक्रमण तीव्र पारेसँगै र केही दिनयता मूल्यमा निरन्तर वृद्धि भएपछि बिहीबार तेलको मूल्य निर्धारण गर्ने विश्वव्यापी मानक ‘ब्रेन्ट क्रुड’को भाउ ६ प्रतिशतभन्दा बढीले बढाएको हो ।

यमनका हुथी विद्रोहीहरूले लाल सागरमा तेल बोक्ने ट्यांकरहरूमा आक्रमण गरेपछि मूल्यमा भारी वृद्धि भएको हो । यस आक्रमणले साउदी अरबले ‘स्ट्रेट अफ हर्मुज’लाई छलेर प्रयोग गर्दै आएको प्रमुख निर्यात मार्गलाई खतरामा पारेको छ ।

पछिल्लो एक महिनामा ग्यासको मूल्य पनि निरन्तर बढेको छ । बेलायतको मानक ग्यासको मूल्य जुनको अन्त्यमा करिब ९८ पेन्स प्रति थर्म रहेकोमा अहिले बढेर करिब १५० पेन्स पुगेको छ ।

अमेरिका र इरानबीचको अस्थायी युद्धविरामपछि तेलको मूल्य घटिरहेको थियो । मूल्य घटेर फेरि त्यही स्तरमा पुगेको थियो, जुन स्तरमा २८ फेब्रुअरीमा अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गर्नुअघि देखिएको थियो । तर, युद्धविराम असफल भए पछि पुनः तेलको मुल्य बढेको हो ।

जारी द्वन्द्वले बेलायत र अमेरिकासहित धेरै देशहरूमा मुद्रास्फीति बढाउने जोखिम निम्त्याएको छ, जसका कारण उपभोक्ताहरूका लागि मूल्यवृद्धि हुन सक्छ ।

सामान्यतया, तेलको मूल्य बढ्दा पेट्रोल र डिजेल पनि महँगो हुन्छन् । यसबाट सवारी चालकहरू प्रत्यक्ष रूपमा प्रभावित भएता पनि व्यवसायीहरूले बढेको ढुवानी लागतको भार उपभोक्ता माथि सार्ने भएकाले घरपरिवारले खाद्यवस्तुजस्ता अन्य सामानको मूल्यमा पनि वृद्धि देख्न सक्छन् ।

बेलायत र अमेरिकामा मुद्रास्फीतिको दर घटेको छ तर मध्यपूर्वमा पुनः सुरु भएको द्वन्द्वका कारण यो कमी अल्पकालीन मात्र हुने हो कि भन्ने प्रश्न अझै बाँकी छ ।

मोटर चालकहरूको हितमा काम गर्ने संस्था एएएका अनुसार अमेरिकामा पेट्रोलको औसत मूल्य पुनः प्रति ग्यालन ४ डलरभन्दा माथि पुगेको छ, जबकी एक महिना अघि यो मूल्य ३.९२ डलर मात्रै थियो ।