१२ श्रावण २०८३, मंगलबार

विश्वकै सबैभन्दा शक्तिशाली गुप्तचर सीआईएमाथि इरानी हमला, रुसले सघाएको अमेरिकाको आशंका

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानले विश्वकै सबैभन्दा शक्तिशाली गुप्तचर निकाय मानिने सीआईएलाई ठूलो धक्का दिएको खुलेको छ ।

इरानले खाडी क्षेत्रमा अमेरिकी गुप्तचर सीआईएका केही केन्द्रहरूमा आक्रमण गरेको खुलेको हो । यो आक्रमण पाँच महिनाअघि अर्थात् मार्चमा भएको थियो, तर इरानले कसरी आक्रमण गर्न सफल भयो भन्नेबारे सीआईएले अहिले अनुसन्धान गरिरहेको छ ।

उक्त आक्रमण अहिले अमेरिकाका लागि अनुसन्धानको विषय बनेको छ । रुसले इरानलाई प्राविधिक सहयोग उपलब्ध गराएको हुनसक्ने आशंका गरिएको छ ।

रोयटर्सले अमेरिकी गुप्तचर मामिलाबारे जानकारी राख्ने चार जनासँग कुराकानी गरेको छ ।

रोयटर्सका अनुसार, नाम नबताउने सर्तमा उनीहरूले बताए कि उक्त आक्रमणमा रुसको संलग्नता थियो वा थिएन भन्नेबारे अमेरिकी गुप्तचर निकाय अझै कुनै निष्कर्षमा पुगेको छैन । यद्यपि, उनीहरूले इरानको आक्रमण सटीक र शक्तिशाली रहेको बताएका छन् । साथै, रुसले इरानलाई प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको पनि उल्लेख गरेका छन् ।

इरानले गत मार्चमा सीआईएका दुईवटा केन्द्रहरूलाई निशाना बनाएको थियो । सीआईएका ती केन्द्रहरूमध्ये एउटा साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा छ भने अर्को पूर्वी इराकमा अवस्थित छ । यी दुवै स्थानमा बम खसालिएका थिए । अन्य सीआईए केन्द्रहरूलाई पनि निशाना बनाइएको अनुमान गरिएको छ, यद्यपि त्यसका बारेमा विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

दुई अधिकारीहरूका अनुसार रियादस्थित अमेरिकी दूतावासमा आक्रमण गर्न इरानले शाहेद ड्रोनको प्रयोग गरेको थियो ।

रोयटर्सका अनुसार यो इरानमा निर्मित आत्मघाती ड्रोन हो । जसको क्षमता रुसले अभिवृद्धि गरेको र यस आक्रमणमा सोही प्रयोग गरिएको आशंका गरिएको छ ।

स्रोतहरूका अनुसार, इरानको शाहेद ड्रोनको क्षमता बढाउन मस्कोले कोमेटा–एम स्याटेलाइट नेभिगेसन प्रणाली उपलब्ध गराएको थियो ।

द वाल स्ट्रिट जर्नलले यो समाचार पहिलोपटक सार्वजनिक गरेको थियो, तर त्यसलाई रुसले झूटा समाचार भन्दै खारेज गरेको थियो ।