८ श्रावण २०८३, शुक्रबार

आलोचनामै केन्द्रित भयौँ भने गन्तव्यमा पुग्न सक्दैनौँ : विश्वप्रकाश शर्मा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र हुने आलोचनामा अल्झिनुभन्दा बीपी कोइरालाको विचार, संस्कार र आदर्शलाई २१ औं शताब्दीका युवाको भावनासँग जोडेर समुन्नतिको यात्रामा अघि बढ्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्रको आलोचनाप्रति संकेत गर्दै त्यसमा केन्द्रित हुँदा गन्तव्यमा पुग्न नसकिने बताए ।

उनले भने, ‘कसैले कहीँ भेला भएर धेरै आलोचना गर्नुभयो भनेर त्यतातिर ढुंगा हानिराख्दा हामी गन्तव्यमा पुग्न सक्दैनौँ । बीपी कोइरालाको पुण्यतिथिमा बीपीकै विचार र संस्कारको कुरा गरौँ । २१ औं शताब्दीका युवाको भावनासँग बीपीको विचारलाई एकाकार गरेर समुन्नतिको गन्तव्यतर्फ अघि बढ्ने संकल्प गरौँ ।’

शर्माले जलवायु परिवर्तनलाई विश्वकै गम्भीर चुनौतीका रूपमा उल्लेख गर्दै नेपाल पनि यसको प्रत्यक्ष असरबाट अछुतो नरहेको बताए ।

उनले दुई वर्षअघि असारमा खडेरी परेको र त्यही वर्ष असोज १२ गते काठमाडौं डुबानमा परेको घटनाको स्मरण गर्दै भारतको टिस्टा क्षेत्रमा आएको बाढी तथा साउदी अरेबियामा हजका क्रममा ५५ डिग्री तापक्रमका कारण एक हजारभन्दा बढी तीर्थयात्रीको मृत्यु भएको उदाहरण प्रस्तुत गरे ।

उनले भने, ‘आईसीमोडको रिपोर्टले हाम्रो क्षेत्रमा ४७ वटा हिमताल जुनसुकै बेला विस्फोट हुन सक्ने जोखिम रहेको देखाएको छ ।’

शर्माले कांग्रेसले आयोजना गरेको ‘ग्रिन रन’ केवल दौड प्रतियोगिता नभई समाजलाई जलवायु परिवर्तनप्रति सचेत गराउने अभियान भएको बताए ।

उनले भने, ‘पृथ्वीको रक्षा गर्नुपर्छ भने सबैभन्दा पहिले नेपालका हिमाल जोगाउनुपर्छ भन्ने अपिल गर्न हामी उभिएका हौँ । जलवायु परिवर्तनका विषयमा आम नागरिकलाई शिक्षित गर्ने अभियान आवश्यक छ ।’

शर्माले बीपी कोइरालाले धेरै पहिले नै वातावरण संरक्षणको महत्व बुझेको उल्लेख गर्दै वन संरक्षणका लागि निजी स्वामित्वका जंगल राष्ट्रियकरण गरेको स्मरण गरे । साथै, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ती वन समुदायलाई हस्तान्तरण गरेपछि नेपाल सामुदायिक वन व्यवस्थापनमा विश्वसामु उदाहरण बनेको बताए ।

उनले भने, ‘आज नेपालले विश्वसामु भन्न सक्छ कि हाम्रो कुल भू–भागको ४५ प्रतिशतभन्दा बढी क्षेत्रमा वन छ । बीपीले त्यो बेला नै पृथ्वी जलवायु संकटसँग जुध्नेछ र त्यसलाई जोगाउने सबैभन्दा ठूलो आधार रुख हुने दूरदृष्टि राख्नुभएको थियो । त्यसैले बीपीले कांग्रेसको चुनाव चिन्ह पनि रुख लिनुभयो ।’

Skip This