काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल र बीपी कोइरालाको योगदानबाट सिक्दै अगाडि बढ्ने बताएका छन् ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवसका अवसरमा बिहीबार सामाजिक सञ्जालबाट सन्देश जारी गर्दै अध्यक्ष ओलीले दुवैको आ–आफ्नो ठाउँमा नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा असाधारण योगदान रहेको स्मरण गरेका हुन् ।
पुष्पलाल र बीपी कोइराला नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका महान हस्ती भएको उनको भनाइ छ ।
उनले भने, ‘पुष्पलाल र बीपी नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनका महान हस्ती हुनुहुन्थ्यो । उहाँहरू दुवै नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलनका बहुआयामिक र शिखर व्यक्तित्व हो, ‘उहाँहरू दुवैको आ-आफ्नो ठाउँमा नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा असाधारण योगदान छ। यस सन्दर्भमा उहाँहरूको योगदाको सम्मान गर्दै, योगदानहरूबाट सिक्दै अगाडि बड्ने प्रण गर्दछु।’
अध्यक्ष ओलीले पुष्पलाल नेकपाका संस्थापक महासचिव मात्रै नभएर नेपाली राजनीतिका सही विश्लेषक, इतिहासकार, व्याख्याता, राजनीतिक साहित्यका प्रखर विश्लेषक, आफ्ना विचारलाई सही निष्कर्षमा पुर्याउन सक्ने असाधारण चिन्तक भएको उल्लेख गरेका छन् ।
पुष्पलालका थुप्रै नीतिहरू अहिले पनि सान्दर्भिक र ताजा रहेका उनको भनाइ छ ।
‘पुष्पलालका थुप्रै नीतिहरू अहिले पनि सान्दर्भिक र ताजा छन्,’ अध्यक्ष ओलीले भने, ‘उहाँको समयपछि मदन भण्डारीको अगुवाइमा नेकपा एमालेले त्यो नीतिलाई कार्यान्वयनको लागि अगुवाई गरेको थियो। अहिलेको अवस्थामा आन्दोलनले अलिकति धक्का खाए पनि यो आन्दोलन फेरि अघि बढ्नेछ । पुष्पलाल र बीपीबाट प्रेरणा लिएर हामी फेरि उठ्नेछौँ, अघि बढ्नेछौँ।’










प्रतिक्रिया