काठमाडौं । जेमिनी रिसाइकल नेपाल कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव अनुमोदन गर्न साउन २२ गते विशेष साधारणसभा बोलाएको हो ।
कम्पनीका अनुसार विशेष साधारणसभा मोरङको बुढीगंगास्थित रजिस्टर्ड कार्यालयमा दिउँसो ३ बजेदेखि सञ्चालन हुनेछ । सभाको मुख्य एजेन्डा जारी पुँजीको २० प्रतिशत बराबर १० लाख कित्ता आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नु रहेको छ । यसका साथै, सभाले जगेडा कोषमा रहेको संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने सम्बन्धी प्रस्तावमाथि पनि निर्णय गर्नेछ । कम्पनीको पुँजी संरचना र आगामी विस्तार योजनालाई सुदृढ बनाउन यी प्रस्तावहरू महत्त्वपूर्ण मानिएका छन् ।
विशेष साधारणसभाले आइपीओ निष्कासनसँग सम्बन्धित आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि स्वीकृत गर्ने कार्यसूची राखेको छ । प्रस्ताव पारित भएपछि नियामक निकायबाट आवश्यक स्वीकृति लिएर कम्पनीले सार्वजनिक निष्कासनको प्रक्रिया अगाडि बढाउनेछ ।
कम्पनीले आइपीओमार्फत जुट्ने पुँजी व्यवसाय विस्तार तथा संस्थागत क्षमता अभिवृद्धिका लागि उपयोग गर्ने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया