१० श्रावण २०८३, आइतबार

अटिजम भएका युवाका लागि आकार फाउन्डेसनको पहिलो ब्लक प्रिन्टिङ तालिम सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आकार फाउन्डेसनले अटिजम भएका युवाहरूका लागि सञ्चालन गरेको पहिलो ब्लक प्रिन्टिङ तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।

आठ सातासम्म सञ्चालन भएको टेक्सटाइल ब्लक प्रिन्टिङ तालिममा सहभागी १२ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुका साथै उनीहरूले तयार गरेका सामग्रीको प्रदर्शनी पनि गरिएको थियो ।

गोदावरीस्थित अटिजमकेयर नेपाल सोसाइटीमा आयोजित कार्यक्रममा द वुमेन्स काउन्सिल युकेकी अध्यक्ष डा. रजनी रिजाल प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । कार्यक्रममा आकार फाउन्डेसन, अटिजमकेयर नेपाल सोसाइटी, दबु टेक्सटाइल स्टुडियोका प्रतिनिधि, अभिभावक तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि डा. रिजालले अटिजम भएका युवाहरू सहभागी भएको कामलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न पाएकोमा खुशी व्यक्त गरिन् । उनले भनिन्, “आकार फाउन्डेसनको निमन्त्रणामा आयोजित यस कार्यक्रममा सहभागी हुन पाउँदा मैले सम्मानित महशुस गरेको छु । अतिरिक्त सहयोग आवश्यक पर्ने युवाहरूले हासिल गरेका उपलब्धिहरू हामी सबैका लागि प्रेरणादायी छन् । द वुमेन्स काउन्सिलको अध्यक्षका रूपमा यस्तो सराहनीय प्रयास प्रत्यक्ष रूपमा देख्न र यस यात्राको हिस्सा बन्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ ।”

कार्यक्रममा बोल्दै आकार फाउन्डेसनका संस्थापक शेखर क्षेत्रीले यस्ता सीपमूलक तालिमले अटिजम तथा बौद्धिक अपाङ्गता भएका युवाहरूको क्षमता विकास र आत्मनिर्भर जीवन निर्माणमा सहयोग पुग्ने बताए ।

कार्यक्रममा आकार फाउन्डेसनकी अध्यक्ष अर्चना शाहले अटिजम भएका युवाका लागि रोजगारी र आयआर्जनका अवसर विस्तार गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिइन् ।

द वुमेन्स काउन्सिल युकेको सहयोगमा सञ्चालन भएको यो तालिम आकार फाउन्डेसन, अटिजमकेयर नेपाल सोसाइटी र दबु टेक्सटाइल स्टुडियोको सहकार्यमा भएको हो ।

तालिम कार्यक्रम आकार फाउन्डेसनको समावेशी कार्यस्थल स्थापना गर्ने दीर्घकालीन योजनाअन्तर्गत सञ्चालन गरिएको हो । तालिमका क्रममा प्रशिक्षार्थीहरूले दबु टेक्सटाइल स्टुडियोको प्राविधिक मार्गदर्शनमा आफ्नो क्षमता र गतिअनुसार सहज तथा सहयोगी वातावरणमा ब्लक प्रिन्टिङ सीप सिकेका थिए ।