९ श्रावण २०८३, शनिबार

मोदी सरकारविरुद्धको प्रदर्शन ३३ औं दिनमा : आन्दोलन चर्कंदै, विशेष हवाई उडानमार्फत सुरक्षाकर्मी ल्याइँदै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी)को नेतृत्वमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारविरुद्ध जारी आन्दोलन आज ३३ औं दिनमा प्रवेश गरेको छ ।

आन्दोलन थप चर्किँदै जाँदा मंगलबार राति पनि हजारौं प्रदर्शनकारीहरूले लगातार तेस्रो रात जन्तर मन्तरमै बसेर सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

प्रदर्शनमा सीजेपीका समर्थकसँगै भारतीय कांग्रेसका कार्यकर्ता, विभिन्न नागरिक समाजका प्रतिनिधि तथा जुलाई २० मा संसद् भवनतर्फ गरिएको मार्चका क्रममा प्रहरीको लाठीचार्ज र अश्रुग्यासको सामना गरेका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको बताइएको छ ।

आन्दोलनकारीहरूले सरकारमाथि लोकतान्त्रिक अधिकार कुण्ठित गरेको, विपक्षी आवाज दबाउन खोजेको तथा जनचासोका विषयमा बेवास्ता गरेको आरोप लगाइरहेका छन् ।

सीजेपीका अनुसार संसद् भवनतर्फको मार्चका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरूलाई मंगलबार रिहा गरिएको छ । उनीहरूको रिहाइपछि प्रहरी मुख्यालयअगाडि जारी धर्ना कार्यक्रम स्थगित गरिएको भए पनि जन्तर मन्तर केन्द्रित आन्दोलन भने अझै जारी रहनेछ ।

सीजेपीका संस्थापक अभिजित दीपकेले आन्दोलनको स्वरूप परिवर्तन नहुने स्पष्ट पार्दै अब आफूहरू सरकारसँग वार्ताका लागि सरकारी कार्यालय वा मन्त्रालय नजाने बताएका छन् । उनले सरकारले वार्ता गर्न चाहे जन्तर मन्तरमै आएर आन्दोलनकारीसँग संवाद गर्नुपर्ने अडान दोहोर्‍याएका छन् ।

यसैबीच, भारतीय सञ्चारमाध्यमहरूका अनुसार केन्द्र सरकार आन्दोलन समाधानका लागि अप्रत्यक्ष रूपमा संवादको प्रयासमा जुटेको संकेत देखिएको छ । केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले मंगलबार राति गुरुग्रामस्थित मेदान्ता अस्पताल पुगेर सामाजिक अभियन्ता सोनम वाङचुकसँग भेटवार्ता गरेका छन् ।

वाङचुक जुन २८ देखि अनशनमा छन् । स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि दिल्ली उच्च अदालतको निर्देशनमा उनलाई सफदरजंग अस्पतालबाट मेदान्ता अस्पतालमा स्थानान्तरण गरिएको थियो ।

वाङचुकले लामो समयदेखि लोकतान्त्रिक अधिकार, सुशासन र संवैधानिक विषयसँग सम्बन्धित मागहरू उठाउँदै आएका छन् । उनको स्वास्थ्य अवस्थालाई लिएर नागरिक समाज र विभिन्न राजनीतिक समूहले पनि चासो व्यक्त गरिरहेका छन् ।

आन्दोलन थप विस्तार हुने संकेत देखिएपछि केन्द्र सरकारले दिल्लीको सुरक्षा व्यवस्थामा व्यापक कडाइ गरेको छ ।

गृह मन्त्रालयले थप २० कम्पनी केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) दिल्लीमा परिचालन गर्न निर्देशन दिएको छ । सीआरपीएफको एउटा कम्पनीमा करिब १०० सुरक्षाकर्मी रहने भएकाले करिब २,००० अतिरिक्त सुरक्षाकर्मी राजधानीमा तैनाथ गरिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसका साथै, पश्चिम बंगालको कोलकाताबाट विशेष हवाई उडानमार्फत सुरक्षाकर्मीहरू दिल्ली ल्याउने प्रक्रिया सुरु गरिएको छ । उनीहरूलाई संसद् भवन, संवेदनशील सरकारी कार्यालय तथा आन्दोलन प्रभावित क्षेत्रको सुरक्षा व्यवस्थापनमा परिचालन गरिनेछ । दिल्ली प्रहरीलाई पनि उच्च सतर्कतामा राखिएको छ भने संवेदनशील क्षेत्रमा निगरानी बढाइएको छ ।

उता, विपक्षी दलहरूले आन्दोलनप्रति समर्थन जनाउँदै सरकारलाई वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन् । उनीहरूले बल प्रयोग गरेर आन्दोलन दबाउने प्रयासले राजनीतिक तनाव झन् बढ्ने चेतावनी दिएका छन् ।

कांग्रेससहितका विपक्षी दलहरूले संसदभित्र र सडक दुवै मोर्चाबाट सरकारमाथि दबाब बढाउने रणनीति अघि सारेका छन् ।

Skip This