काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीचको सम्बन्ध थप चिसिँदै जाँदा सरकारभित्र नयाँ अर्थमन्त्रीको खोजी सुरु भएको छ । बजेटपछि देखिएको मतभेद मंगलबार थप सतहमा आएपछि प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्ले दुवैले रास्वपा सभापति रवि लामिछानेसँग आ–आफ्नो गुनासो राखेका छन् ।
स्रोतका अनुसार मंगलबार प्रधानमन्त्री बालेनले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर कार्यान्वयन नगर्ने घोषणा फेसबुकमार्फत सार्वजनिक गरे । उक्त निर्णय अर्थमन्त्रीसँग पूर्वसमन्वय नगरी सार्वजनिक गरिएको भन्दै अर्थमन्त्री वाग्ले असन्तुष्ट बनेका थिए । त्यसलगत्तै उनले सभापति लामिछानेसँग प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेको सभापतिनिकट स्रोतको भनाइ छ ।
यता, प्रधानमन्त्री बालेनले पनि आफ्नो कोर टिमसँगको छलफलमा अर्थमन्त्री वाग्लेसँग अब सहज रूपमा काम गर्न नसकिने धारणा राखेका थिए । बजेटमा समावेश गरिएका करका व्यवस्था, विद्युतीय सवारीसाधनसम्बन्धी नीति, निजी क्षेत्रप्रतिको दृष्टिकोण तथा अर्थतन्त्र चलायमान बनाउन नसकेको भन्दै प्रधानमन्त्री अर्थमन्त्रीप्रति रुष्ट छन् ।
यही कारण प्रधानमन्त्रीले पछिल्ला दिनमा उद्योगी–व्यवसायी, निर्माण व्यवसायी, सेयर बजारका प्रतिनिधि तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग अर्थमन्त्रीको उपस्थितिबिनै छुट्टाछुट्टै छलफल गर्दै आएका छन् ।
यसैबीच, नयाँ अर्थमन्त्रीका रूपमा दुई नाम चर्चामा छन् । एकातिर रास्वपाकी सांसद विदुषी राणा, अर्कोतर्फ नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल । स्रोतका अनुसार प्रधानमन्त्रीले पौडेललाई छ महिनाका लागि अर्थमन्त्री बन्न प्रस्तावसमेत गरेका थिए । प्रस्ताव स्वीकार गरेमा उनलाई राष्ट्रिय सभामा मनोनीत गरेर अर्थमन्त्री बनाउने विकल्पबारे असार ३२ गतेको भेटमा छलफल भएको दाबी गरिएको छ ।
सरकारभित्र बढ्दो मतभेदका बीच सभापति रवि लामिछाने दुवै पक्षको असन्तुष्टि व्यवस्थापन गर्ने दबाबमा परेका छन् । एकातिर प्रधानमन्त्रीले अर्थमन्त्री परिवर्तनको आवश्यकता औंल्याइरहेका छन् भने अर्कोतिर अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको कार्यशैलीप्रति गुनासो गरिरहेका छन् । यही कारण बालेन–वाग्ले विवाद मिलाउने जिम्मेवारी अहिले लामिछानेमाथि परेको छ ।













प्रतिक्रिया