काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी प्रोटोन इ–मास ५ नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको यो गाडी नेपालमा प्रोटोनको दोस्रो विद्युतीय मोडल हो ।
कम्पनीका अनुसार इ–मास ५ सहरी तथा दैनिक यात्रालाई लक्षित गर्दै आधुनिक प्रविधि, आकर्षक डिजाइन र व्यावहारिक सुविधासहित बजारमा ल्याइएको हो । यसमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता सुविधा उपलब्ध छन् । साथै, ७० लिटरको फ्रन्ट ट्रङ्क (फ्रङ्क), ३७५ लिटरको रियर लगेज स्पेस तथा विभिन्न ३२ वटा स्टोरेज कम्पार्टमेन्ट समावेश गरिएको कम्पनीले जनाएको छ ।
प्रोटोन इ–मास ५ ले हालै मलेसियाको ‘अलायान्ज डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स २०२६’अन्तर्गत ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर’ उपाधि प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ ।
सार्वजनिक समारोहमा नेपालस्थित मलेसियाली दूतावासका प्रतिनिधि, अटोमोबाइल क्षेत्रका सरोकारवाला, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा जगदम्बा मोटर्सका एक्जेक्युटिभ डाइरेक्टर अखिल गुप्ताले प्रोटोनसँगको सहकार्यलाई निरन्तरता दिँदै नेपाली बजारमा नयाँ विद्युतीय विकल्प थपिएको बताए । उनले अत्याधुनिक प्रविधि, उपयोगिता र प्रतिस्पर्धी मूल्यका कारण इ–मास ५ नेपाली ग्राहकका लागि उत्कृष्ट कम्प्याक्ट एसयूभी बन्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, प्रोटोन इन्टरनेसनलका डेपुटी डाइरेक्टर लि झिदानले नेपाललाई प्रोटोनको अन्तर्राष्ट्रिय विस्तार रणनीतिको महत्त्वपूर्ण बजारका रूपमा उल्लेख गर्दै जगदम्बा मोटर्ससँगको सहकार्यले नेपाली ग्राहकमाझ ब्रान्डप्रति विश्वास अझ सुदृढ हुने बताए ।
कम्पनीका अनुसार प्रोटोन इ–मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । सार्वजनिक अवसरमा प्राइम भेरियन्टको सुरुवाती मूल्य २९ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । यो विशेष मूल्य पहिलो १०० ग्राहकका लागि सीमित अवधिसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार इच्छुक ग्राहकहरूले देशभर रहेका प्रोटोन इ–मास शोरुमबाट गाडीको प्रत्यक्ष अवलोकन, परीक्षण तथा बुकिङ गर्न सक्नेछन् ।







प्रतिक्रिया