११ श्रावण २०८३, सोमबार

विवादमा फसेको सलमानको ‘मातृभूमि’ २०२६ मा नै आउने, नेपाली अभिनेताले पनि गरेका छन् अभिनय

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता सलमान खानलाई ठूलो पर्दामा हेर्न प्रशंसकहरू आतुर रहेका छन् । उनको चलचित्र ‘मातृभूमि’ फिल्म सुरुमा अप्रिल २०२६ मा प्रदर्शन हुने तय भएको थियो तर त्यो स्थगित गरिएपछि प्रतीक्षा अझ लम्बिन पुगेको छ । त्यसपछि सो चलचित्र अगस्ट २०२६ मा प्रदर्शन हुन सक्ने खबरहरू बाहिर आएका छन् ।

यसअघि दर्शकहरूले सन् २०२७ मा मात्रै अब सलमान खानको चलचित्र ‘मातृभूमि’ हेर्न पाउने खबर बाहिरिएको थियो । तर, अब चलचित्र निर्माताहरूले यससम्बन्धी एउटा महत्त्वपूर्ण जानकारी दिएका छन्, एउटा नयाँ पोस्टर सार्वजनिक गर्दै उनीहरूले ‘मातृभूमि’ सन् २०२६ मा नै हलहरूमा प्रदर्शन हुने घोषणा गरेका छन् । हाल यसको प्रदर्शनको निश्चित मिति तय गर्ने काम भइरहेको छ ।

‘मातृभूमि’को निर्देशन अपूर्व लाखियाले गरिरहेका छन् र यसको निर्माण सलमान खानको प्रोडक्सन हाउस ‘सलमान खान फिल्म्स’को ब्यानरमा भइरहेको छ ।

सोमबार अबेर सलमान खान फिल्म्सले सामाजिक सञ्जाल ‘एक्स’मा एउटा नयाँ पोस्टर सार्वजनिक गर्‍यो, जसमा सलमान र चित्रांगदा सिंहबीचको रोमान्टिक क्षण देखाइएको छ । पोस्टरमा सन् २०२६ उल्लेख गरिएको छ, जसले यो चलचित्र सोही वर्ष प्रदर्शनमा आउने संकेत गर्छ । पोस्टरको साथमा यस्तो क्याप्सन राखिएको छ, ‘एक सैनिकको वाचा । एक परिवारको शक्ति । राष्ट्रको गौरव ।’

यसैबीच, बलिउड हंगामाले व्यापारिक स्रोतलाई उद्धृत गर्दै जनाए अनुसार चलचित्र निर्माताहरू प्रदर्शनका लागि नयाँ मिति खोजी गरिरहेका छन् । यद्यपि, प्रदर्शनका लागि उपयुक्त मानिने मुख्य मितिहरू पहिले नै तय भइसकेका छन् र सलमान खान आफ्नो चलचित्र अन्य कुनै चलचित्रसँग जुधोस् भन्ने चाहँदैनन् । यदि त्यस्तो परिस्थिति आइ परेमा पनि प्रदर्शन मिति घोषणा गर्नुअघि उनले सम्बन्धित पक्षसँग परामर्श गर्ने र जानकारी गराउने छन् ।

यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने ‘मातृभूमि’ सन् २०२० मा गलवान उपत्यकामा चिनियाँ र भारतीय सैनिकहरूबीच भएको झडपमा आधारित छ । यस चलचित्रमा सलमानले कर्णेल सन्तोष बाबुको भूमिका निभाएका छन् । अभिनेत्री चित्रांगदा सिंहसँग उनको अन स्क्रिन जोडी बनेको यो पहिलो चलचित्र हो ।

यस चलचित्रको सुरुवाती नाम ‘ब्याटल अफ गलवान’ राखिएको थियो, जुन पछि परिवर्तन गरिएको थियो ।

चिनियाँ सेनाको आपत्ति तथा भारतीय सेन्सर बोर्डले धेरै कैचीँ लगाएपछि यो फिल्म प्रदर्शन अन्यौंलमा परेको थियो ।

यो फिल्ममा नेपाली अभिनेता अनुपविक्रमले पनि अभिनय गरेका छन् ।