११ श्रावण २०८३, सोमबार

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कुल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् ।

कोषका अनुसार सूचीकृत रोजगारदाताको संख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत योगदानकर्ताको संख्या ३० लाख ४३ हजार २०० पुगेको छ । कोषले २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ रुपैयाँ बराबर दाबी भुक्तानी गरेको छ ।

यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबीतर्फ तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४६२ रुपैयाँ उपलब्ध गराएको छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा दाबीतर्फ ३० करोड ४६ लाख छ हजार ५१४ रुपैयाँ, आश्रित परिवार सुरक्षा दाबीतर्फ ३८ करोड चार लाख २५ हजार २१६ रुपैयाँ र अवकाश दाबीतर्फ १७ अर्ब छ करोड ४५ लाख ४१ हजार ६१ रुपैयाँ बराबर रकम उपलब्ध गराएको छ ।

पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ । पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रम समेत अगाडि बढाइएकाले कोषप्रति आम मानिसको चासो बढ्दै गएको पाइएको छ । कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी सुरु गरेको छ । यसबाट बहुआयामिक लाभ हासिल हुने विश्वास लिइएको छ ।