काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कक्रोच जनता पार्टी (सिजेपी)ले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा केही प्रदर्शनकारीहरूले नेपालमा भएको जेनजी आन्दोलनको उदाहरण दिँदै मोदी सरकारलाई चेतावनी दिएका छन् ।
नीट प्रश्नपत्र लीक प्रकरणमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै सिजेपीले आयोजना गरेको ‘संसद मार्च’का क्रममा प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी आक्रोशित बनेका थिए । प्रदर्शनमा मुख्य रूपमा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रहरीसँगको झडपपछि आक्रोशित एक प्रदर्शनकारीले शिक्षामन्त्रीले राजीनामा नदिए भारतको संसद भवनलाई ‘नेपालमा जस्तै’ बनाइदिने चेतावनी दिएका हुन् ।
‘राजीनामा नआए संसद भवन उखेलिदिन्छौँ, नेपाल बनाइदिन्छौँ,’ उनले भने ।
प्रदर्शनकारीहरूले शिक्षामन्त्रीको राजीनामा माग गर्दै लामो समयदेखि आन्दोलन गरिरहेका छन् ।

दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएपछि प्रदर्शनकारीहरू संसद भवनसम्म पुग्न नसके पनि जन्तर–मन्तरसहित विभिन्न स्थानमा विरोध प्रदर्शन जारी राखेका छन् । प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले लाठीचार्ज र बल प्रयोग गरेको बताइएको छ ।
यसैबीच, आन्दोलन चर्कँदै गएपछि आन्दोलनरत पक्ष र सरकारबीच वार्ताको पहल पनि भएको छ ।
सिजेपीका प्रतिनिधिहरूले केन्द्रीय मन्त्री जेपी नड्डासँग भेट गरी सामाजिक अभियान्ता सोनम वाङचुकको तत्काल रिहाइ, शिक्षामन्त्रीको राजीनामा तथा नीट परीक्षा विवाद र तनावका कारण आत्महत्या गरेका प्रत्येक विद्यार्थीका परिवारलाई १ करोड क्षतिपूर्ति दिनुपर्ने माग राखेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।







प्रतिक्रिया