काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग गरेको छ ।
कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा निर्माण गरिएको उक्त भवन सम्पन्न गर्न सहयोग प्रदान गरेको जनाएको छ । नवनिर्मित भवनले ६० जनासम्म दृष्टिविहीन बालबालिकालाई सुरक्षित, सहज र पारिवारिक वातावरणमा बसोबास गर्ने सुविधा उपलब्ध गराउनेछ ।
भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक पूर्वाधार, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवश्यक आवासीय सुविधाहरू समावेश गरिएको छ । यसअघि त्रिनेत्र फाउन्डेसनले सीमित स्रोत–साधनका बीच भाडाको सानो घरबाट सेवा सञ्चालन गर्दै आएको थियो ।
नयाँ भवन सञ्चालनमा आएपछि दृष्टिविहीन बालबालिकालाई गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सीप प्रदान गर्ने संस्थाको क्षमता उल्लेखनीय रूपमा विस्तार हुने अपेक्षा गरिएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले व्यावसायिक सफलतासँगै समाजमा सकारात्मक प्रभाव सिर्जना गर्नु पनि कम्पनीको प्राथमिकता रहेको बताए । उनले त्रिनेत्र फाउन्डेसनमार्फत दृष्टिविहीन बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा तथा आत्मनिर्भर जीवनतर्फ उन्मुख गराउने अभियानमा सहकार्य गर्न पाउँदा कम्पनी गौरवान्वित भएको उल्लेख गरे ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जिम्मेवार व्यावसायिक अभ्यास र प्रभावकारी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत जीवन बीमा सेवासँगै नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान पुर्याउँदै आएको जनाएको छ ।









प्रतिक्रिया