१० श्रावण २०८३, आइतबार

निरज आचार्यको प्रश्न– ३५ वर्षमा एक चौथाई समय पनि शासन नगरेको एमालेमाथि दोषजति सबै थोपरेर हुन्छ ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विगत ३५ वर्षमा एमालेले जम्मा ८ वर्ष ५ महिना ११ दिन मात्र सरकारको नेतृत्व गरेको बताएका छन् । उनले एमालेलाई लक्षित गरेर ३५ वर्षमा के गर्‍यौ भन्नु तथ्यविपरीत रहेको जिकिर गरेका हुन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आचार्यले एमालेलाई लक्षित गरेर अहिले समाजमा ३५ वर्षमा तिमीहरूले के गर्‍यौ भन्दै जबर्जस्ती एउटा गलत भाष्य निर्माण गरेर आम नागरिकमा भ्रम छर्न खोजिएको उल्लेख गरे ।

उनका अनुसार पछिल्लोपटक पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तीन कार्यकालमा क्रमशः २९८ दिन, १,२४४ दिन र ४२५ दिन गरी कुल १,९६७ दिन अर्थात् ५ वर्ष ४ महिना २२ दिन सरकारको नेतृत्व गरेका हुन् । तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले २८६ दिन, माधवकुमार नेपालले ६२३ दिन र झलनाथ खनालले २०५ दिन सरकारको नेतृत्व गरेको उल्लेख गरेका छन् । यी सबै अवधि जोड्दा एमालेले विगत ३५ वर्षमा कुल ३,०८१ दिन अर्थात् ८ वर्ष ५ महिना ११ दिन मात्रै सरकारको नेतृत्व गरेको छ ।

२०४८ पछिका २७ वर्ष अन्य राजनीतिक दलहरूले शासन सञ्चालन गरेको आचार्यले लेखेका छन् । ३५ वर्षको एक चौथाई समय पनि एमालेले सत्ता चलाएको छैन । सबै बिग्रिएका कामको सबै दोष एमालेलाई थोपरेर हुन्छ ? उनले प्रश्न गरेका छन् ।

एमाले नेतृत्वको सरकारको कार्यकाल छोटो भए पनि त्यस अवधिमा ऐतिहासिक उपलब्धि हासिल भएको उनले जानकारी गराए । उनले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाको सुरुवात र विस्तार, सुशासन, बलियो राष्ट्रियताको अडान तथा ठूला पूर्वाधार निर्माणजस्ता क्षेत्रमा उल्लेखनीय काम भएको बताए ।

आचार्यले नागरिकका मूर्छित सपनाहरूलाई ब्युँझ्याउने र राज्य एवं प्रणालीप्रति आम जनताको भरोसा जगाउने काम एमाले नेतृत्वकै सरकारहरूले गरेको उल्लेख गरेका छन् । उनले तथ्यका आधारमा मात्रै राजनीतिक मूल्यांकन गर्न आग्रह गर्दै भ्रमको पछाडि नलागी सत्यको सम्प्रेषण र आलोचना गर्न आग्रह गरेका छन् ।