काठमाडौं । फिफा विश्वकपको ९६ वर्षे इतिहासमा विदेशी प्रशिक्षकले टोलीलाई विश्वकप जिताउने सपना अझै अधुरै रहेको छ ।
सन् १९३० मा सुरु भएको विश्वकपदेखि सन् २०२६ सम्म उपाधि जित्ने सबै टोलीका मुख्य प्रशिक्षक आफ्नै देशका नागरिक रहेका छन् । यसपटक पनि स्पेनले अर्जेन्टिनालाई फाइनलमा १–० ले पराजित गर्दै दोस्रो पटक विश्वकप जितेपछि यो ऐतिहासिक कीर्तिमान कायम रहेको हो ।
स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्ते पनि स्पेनी नागरिक हुन् । यससँगै विश्वकपको इतिहासमा कुनै पनि विदेशी प्रशिक्षकले आफ्नो नेतृत्वमा टोलीलाई विश्वविजेता बनाउन नसकेको तथ्य यथावत् रहेको छ ।
यो कीर्तिमान तोड्ने सबैभन्दा ठूलो अवसर पोर्चुगलसँग थियो ।
पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेज स्पेनिस नागरिक हुन् । यदि क्रिस्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलले पहिलोपटक विश्वकप जितेको भए विदेशी प्रशिक्षकको नेतृत्वमा उपाधि जित्ने पहिलो टोली बन्ने थियो । तर, पोर्चुगल नकआउट चरणबाटै बाहिरिएपछि ९६ वर्ष पुरानो यो कीर्तिमान तोड्ने सम्भावना पनि समाप्त भएको थियो ।
यता, स्पेनले विश्वकप फाइनलमा आफ्नो शतप्रतिशत जितको कीर्तिमानलाई पनि निरन्तरता दिएको छ । यसअघि सन् २०१० मा नेदरल्यान्ड्सलाई पराजित गर्दै पहिलोपटक विश्वविजेता बनेको स्पेनले सन् २०२६ को फाइनलमा अतिरिक्त समयमा अर्जेन्टिनालाई १–० ले हराउँदै दोस्रो पटक उपाधि उचाल्यो ।
अतिरिक्त समयको १०६ औं मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलले नै स्पेनको जित सुनिश्चित बन्यो । यससँगै स्पेनले खेलेका दुवै विश्वकप फाइनल जित्दै फाइनलमा शतप्रतिशत सफलता कायम राखेको छ ।










प्रतिक्रिया