काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा करिब २४ घण्टा लामो भेटवार्ता भएको छ ।
शनिबार दिउँसो करिब ३:२० बजे पत्नीसहित रिसोर्ट पुगेका लामिछाने आइतबार साँझ काठमाडौं फर्किएका हुन् । वाग्ले भने उनीभन्दा अगाडि नै रिसोर्ट पुगिसकेका थिए ।
पछिल्लो समय सरकार र पार्टीबीचको समन्वय, सरकार सञ्चालनको शैली तथा नेतृत्वलाई लिएर विभिन्न तहमा चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
केही दिनअघि प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले लामिछाने निवासमै पुगेर अर्थमन्त्री वाग्लेको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनलाई मन्त्रिपरिषद्बाट हटाउने प्रस्ताव राखेका थिए । तर सभापति लामिछानेले उक्त प्रस्ताव स्वीकार नगरेको स्रोतको दाबी छ । वाग्लेलाई अर्थमन्त्रीबाट हटाउने विषयमा आफू सहमत हुन नसक्ने अडान लामिछानेले प्रधानमन्त्रीसमक्ष स्पष्ट पारेको बताइएको छ ।
प्रधानमन्त्री साह र अर्थमन्त्री वाग्लेबीच आर्थिक नीतिलाई लिएर लामो समयदेखि दृष्टिकोणमा अन्तर देखिएको स्रोतहरूको भनाइ छ । प्रधानमन्त्री तत्काल परिणाम दिने विकास आयोजना, आकस्मिक बजेट विनियोजन र केही खुकुलो आर्थिक नीतिको पक्षमा रहँदा अर्थमन्त्री वाग्ले भने वित्तीय अनुशासन, सीमित खर्च र प्राविधिक मूल्यांकनलाई प्राथमिकता दिने शैलीमा अडिग रहेको स्रोतको दाबी छ ।
प्रधानमन्त्रीले अघि सारेका केही जनमुखी तथा तत्काल प्रभाव पार्ने कार्यक्रम बजेटमा समावेश हुन नसक्दा प्रधानमन्त्री सचिवालय समेत असन्तुष्ट बनेको बताइन्छ ।
स्रोतका अनुसार अर्थमन्त्रीको नीतिका कारण सेयर बजार अपेक्षाअनुसार चलायमान हुन नसकेको, उत्पादन र पुँजी निर्माणभन्दा वैदेशिक ऋण व्यवस्थापनलाई बढी प्राथमिकता दिइएको तथा अर्थतन्त्रलाई गति दिने खालको बजेट आउन नसकेको निष्कर्ष प्रधानमन्त्री पक्षले निकालेको छ ।
यही असन्तुष्टिका कारण पछिल्ला दिनमा प्रधानमन्त्री साहले उद्योगी–व्यवसायी तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग गरेका महत्वपूर्ण छलफलमा समेत अर्थमन्त्री वाग्लेलाई सहभागी नगराएको स्रोतको दाबी छ ।
दुसित थानी रिसोर्टमा भएको लामो छलफलमा प्रधानमन्त्री साहको कार्यशैली, सरकार गठनपछिका करिब सय दिनको समीक्षा, सुकुम्बासी व्यवस्थापन लगायतका विषयमा गम्भीर समीक्षा भएको स्रोतले जनाएको छ । सरकारप्रति जनगुनासो बढ्दै गएको निष्कर्ष निकाल्दै रास्वपाको नीति तथा घोषणापत्रअनुसार सरकार सञ्चालन हुन नसके नेतृत्व परिवर्तनको विकल्प समेत छलफल भएको स्रोतको दाबी छ ।
पछिल्ला केही सातायता रास्वपाकै केही सांसदहरूले संसद् बैठक र सामाजिक सञ्जालमार्फत सरकारको कार्यशैलीमाथि सार्वजनिक रूपमा प्रश्न उठाउँदै आएका छन् । त्यसैले सभापति लामिछाने र अर्थमन्त्री वाग्लेबीच भएको यो लामो भेटलाई रास्वपाभित्रको आगामी राजनीतिक रणनीतिसँग जोडेर हेरिएको छ ।










प्रतिक्रिया