११ श्रावण २०८३, सोमबार

सिप्रदी अटोपार्ट्सद्वारा च्यानल पार्टनर्सको दोस्रो पुस्ताका लागि उद्यमशीलता विकास तालिम सुरु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टाटा जेन्युइन पार्ट्सको आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले आफ्ना च्यानल पार्टनर्सका दोस्रो पुस्तालाई लक्षित गर्दै पहिलोपटक ‘च्यानल पार्टनर्स इन्टरप्रेनरशिप डेभलपमेन्ट २०२६’ तालिम कार्यक्रम सुरु गरेको छ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा सिप्रदी ट्रेनिङ सेन्टरको सहकार्यमा सञ्चालन गरिएको तालिमको औपचारिक शुभारम्भ गरिएको हो। अटोपार्ट्स व्यवसायको पुस्तान्तरणलाई सहज बनाउने, नयाँ पुस्ताका युवा व्यवसायीलाई आधुनिक व्यावसायिक सीप प्रदान गर्ने तथा विदेश पलायनको विकल्पका रूपमा स्वदेशमै उद्यमशीलता विकास गर्न प्रेरित गर्ने उद्देश्यले तालिम आयोजना गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमको उद्घाटन सिप्रदिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत (सीओओ) राजेश प्रसाद गिरी, सिप्रदी अटोपार्ट्सका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकी तथा जनरल म्यानेजर (एचआर) शारदा रानाले संयुक्त रूपमा गरेका थिए।

तालिमको पहिलो चरणमा च्यानल पार्टनर्सका ९ जना उत्तराधिकारी युवा व्यवसायी सहभागी छन्। उद्घाटन सत्रमा सहभागीहरूले तालिमप्रतिको अपेक्षा, भविष्यको व्यवसायिक योजना तथा उद्यमशीलताप्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सिप्रदिका पदाधिकारीहरूले नेपालको अटोपार्ट्स व्यवसायलाई थप व्यवस्थित, प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउन नयाँ पुस्ताको भूमिका निर्णायक हुने बताए। उनीहरूले युवाहरू विदेश रोजगारी वा अध्ययनतर्फ आकर्षित हुनुभन्दा आफ्नै पारिवारिक व्यवसायलाई आधुनिक व्यवस्थापन, डिजिटल प्रविधि र नवीन सोचमार्फत विस्तार गर्न सके देशको अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने धारणा व्यक्त गरे।

सिप्रदी अटोपार्ट्सले आगामी दिनमा यस कार्यक्रमलाई देशभर विस्तार गर्दै अन्य च्यानल पार्टनर्सका भावी उत्तराधिकारीलाई पनि तालिममा समेट्ने योजना बनाएको जनाएको छ।

कम्पनीका अनुसार तालिमले सहभागीलाई टाटा जेन्युइन पार्ट्सको बजारबारे गहिरो बुझाइ, व्यवसाय व्यवस्थापनका आधुनिक अभ्यास, नाफा अभिवृद्धिका रणनीति तथा डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमार्फत व्यवसाय विस्तार गर्ने क्षमता विकास गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।