९ श्रावण २०८३, शनिबार

कामना सेवा विकास बैंकको खुद नाफा ३३.५१ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ६० करोड ११ लाख

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ मा नाफादेखि व्यवसाय विस्तारसम्म अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गर्दै आफ्नो वित्तीय अवस्था थप सुदृढ बनाएको छ ।

सार्वजनिक गरिएको अपरिष्कृत वार्षिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा एक वर्षमै ३३.५१ प्रतिशतले वृद्धि भई ८९ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ६६ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । नाफासँगै बैंकको सञ्चालन मुनाफामा पनि उल्लेखनीय सुधार देखिएको छ । समीक्षा अवधिमा सञ्चालन मुनाफा ३२.८७ प्रतिशतले बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले वृद्धि भई २ अर्ब ४१ करोड ८ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको वितरणयोग्य मुनाफा ६० करोड ११ लाख रुपैयाँ पुगेको छ, जसका आधारमा हालसम्म करिब १५.१६ प्रतिशत लाभांश वितरण गर्ने क्षमता देखिएको छ । रिटेन्ड अर्निङ ६० करोड ११ लाख रुपैयाँ तथा जगेडा कोष २ अर्ब १४ करोड १३ लाख रुपैयाँ पुगेको छ, जुन दुवै अघिल्लो वर्षको तुलनामा बढेका हुन् ।

व्यवसाय विस्तारतर्फ पनि बैंकले प्रगति गरेको देखिएको छ । गत आर्थिक वर्षमा बैंकले ६६ अर्ब १७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गर्दै ५४ अर्ब २१ करोड १ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । दुवै सूचक अघिल्लो वर्षभन्दा उच्च रहेका छन् ।

यस अवधिमा बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २०.७५ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७१.०१ रुपैयाँ कायम भएको छ । पीई रेसियो २०.८४ गुणा रहेको वित्तीय विवरणले बैंकको समग्र वित्तीय प्रदर्शन सकारात्मक दिशामा अघि बढिरहेको संकेत गरेको छ ।

Skip This