२ श्रावण २०८३, शनिबार

डा. देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रले लोकतन्त्रका सजग पहरेदार गुमायो : गगन थापा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वरिष्ठ नागरिक अगुवा तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति थापाले डा. पाण्डेको निधनसँगै राष्ट्रले प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रका सजग पहरेदार गुमाएको बताए । उनले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा डा. पाण्डेले जीवनभर निर्भीक रूपमा आवाज उठाएको स्मरण गरे ।

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक चरणहरूमा डा. पाण्डेले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले नयाँ पुस्तालाई लोकतन्त्र, नागरिक चेतना र उत्तरदायी शासनका विषयमा डा. पाण्डेले निरन्तर प्रेरित गरेको बताए ।

थापाले अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा डा. पाण्डेले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसमा महत्वपूर्ण योगदान दिएको बताए ।

उनले सार्वजनिक जीवनमा डा. पाण्डेले देखाएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहने उल्लेख गरेका छन् ।

‘अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा उहाँले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिनुभयो । सार्वजनिक जीवनमा उहाँले देखाउनुभएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहनेछ,’ थापाले भनेका छन् ।

सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा डा. पाण्डेले निर्वाह गरेको भूमिका विशेष स्मरणीय रहेको बताउँदै थापाले उनले प्रज्वलित गरेको नागरिक चेतना र बौद्धिक योगदानले आगामी पुस्तालाई मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरेका छन् ।

सभापति थापाले दिवंगत डा. देवेन्द्रराज पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।