काठमाडौं । भारतको राजधानी दिल्लीको जन्तर मन्तरमा २१ दिनदेखि अनशनरत सामाजिक अभियन्ता सोनम वाङचुकलाई नियन्त्रणमा लिँदै प्रहरीले शनिबार बिहान सफदरजंग अस्पताल लगेको छ ।
नीट परीक्षामा भएको भनिएको अनियमितताविरुद्ध अभियन्ता वाङचुकसहित विद्यार्थीहरु शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै अनिश्चितकालीन आमरण अनशनमा थिए ।
वाङचुकसहित अनशनमा बसेका विद्यार्थीहरुले प्रहरीको कदमको प्रतिरोध गर्दा त्यहाँ झडप अवस्था बनेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पछिल्लो २१ दिनदेखिको निरन्तरको अनशनका कारण वाङचुकको स्वास्थ्य अवस्था तीव्र रूपमा बिग्रँदै गएको बताइएको छ । चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाबारे यसअघि नै पटक–पटक चेतावनी दिँदै आएका थिए ।
वाङचुकको तौल ९.५ केजी घट्यो
चिकित्सकहरूका अनुसार अनशनरत वाङचुकको तौल अहिलेसम्म करिब ९.५ किलोग्राम घटिसकेको छ ।
शुक्रबार २४ घण्टाको अवधिमा उनको तौल थप ३५० ग्रामले घटेर ५६.५५ किलोग्राममा झरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसक्रममा उनको रक्तचाप १०८/६८, ब्लड सुगर ७० मिलिग्राम/डेसिलिटर र मुटुको धड्कन प्रतिमिनेट ७२ पटक रहेको पाइएको थियो ।







प्रतिक्रिया