काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५ वर्षको गौरवमय यात्रामा प्रथम बीमा शुल्कमार्फत १३ अर्ब रुपैयाँभन्दा बढी आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा नयाँ कीर्तिमान कायम गरेको छ ।
कम्पनीका अनुसार यो उपलब्धि नेपालको जीवन बीमा क्षेत्रमा पहिलोपटक हासिल भएको हो । गत आर्थिक वर्षमा १० अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष उक्त उपलब्धिलाई थप उचाइमा पुर्याएको जनाएको छ ।
यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनीलाई निरन्तर मार्गदर्शन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, नेपाल लाइफप्रति अटल विश्वास राखी जीवन बीमा गरेका सम्पूर्ण बीमितहरू, कम्पनीको मेरुदण्डका रूपमा रहेका समर्पित बीमा अभिकर्ताहरू, कर्मचारीहरू, शेयरधनीहरू, नियामक निकायहरू तथा यस उपलब्धिलाई सम्भव बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
नेपाल लाइफले २५ वर्षदेखि विश्वास, सेवा र उत्कृष्टतालाई प्राथमिकतामा राख्दै सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा प्रविधिमैत्री तथा ग्राहकमैत्री सेवा विस्तार, नवीन बीमा योजना सञ्चालन, प्रभावकारी लगानी व्यवस्थापन तथा कर्मचारी र अभिकर्ताको क्षमता अभिवृद्धिमा थप जोड दिने प्रतिबद्धता जनाएको छ ।
कम्पनीले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जनलाई ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाको साझा सफलताका रूपमा लिँदै आगामी दिनमा पनि जीवन बीमा क्षेत्रमा अग्रणी संस्थाको रूपमा आफ्नो नेतृत्वलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ ।










प्रतिक्रिया