१० श्रावण २०८३, आइतबार

मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना दिन नेपाल टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् जोखिमसम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्झौता सम्पन्न भएको छ । यससम्बन्धी आज भएको सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र जल तथा मौसम विज्ञान विभागको तर्फबाट महानिर्देशक डा. अर्चना श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस प्रकारको एसएमएस प्रवाह विगतदेखि नै भइरहेको र यसका लागि आवश्यक विवरण तथा सेवा उपलब्ध गराएकोमा दुवै जनाले एक अर्को संस्थाप्रति आभार व्यक्त गरे । उनीहरुले भविष्यमा समेत यो सेवा प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

सम्झौता अनुसार देशभरका विभिन्न जोखिमयुक्त स्थानमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई जल तथा मौसमजन्य विपद्सम्बन्धी प्रकोप तथा विपद् जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी ११५५ सर्टकोड प्रयोग गरी एसएमएसमार्फत पठाइनेछ । यस अनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात/हिमआँधी, तातो हावाको लहर (लु), शितलहर, धुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोट र डढेलो जस्ता प्रकोपहरुको पूर्वसूचना पठाइनेछ ।

विपद्सम्बन्धी पूर्वसूचना मोबाइल एसएमएसमार्फत प्रवाह गर्न नेपाल टेलिकमलाई विभिन्न नदी तटीय क्षेत्रहरु तथा सम्भावित जोखिमयुक्त क्षेत्रहरुका एसएमएस पोलिगनहरु जल तथा मौसम विज्ञान विभागले उपलब्ध गराउनेछ । सम्झौता अनुसार पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायतका नदी तटीय क्षेत्र र अन्य स्थानीय तहको नक्सा वा जिल्लागत नक्सा वा आकस्मिक बाढी सम्भावित क्षेत्रहरु वा उपयुक्त कुनै वेसिनको नक्सा नेपाल टेलिकमलाई उपलब्ध गराइनेछ ।

त्यसैगरी, प्रकोपको प्रकृति, विस्तार क्षेत्र तथा त्यसको प्रभावस्तर अनुमान गर्न उपयुक्त हुने जिल्लागत नक्सा, स्थानीय तहगत नक्सा, विभिन्न स्थानका कुनै विशेष भू–भाग समेटिएको नक्सा र अन्य उपयुक्त नक्सा समेत उपलब्ध गराइनेछ ।

यससम्बन्धी एसएमएस सेवा नेपाल टेलिकमले विगतदेखि नै निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । यसका लागि नेपाल टेलिकमले पहिलेदेखि नै ७०० वटा सिम उपलब्ध गराइरहेकोमा अब थप १०० वटा समेत गरी ८०० वटा डाटासहितको सिम निःशुल्क उपलब्ध गराउनेछ । नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागमार्फत विगत २०७३ सालदेखि नै यस प्रकारको मौसमजन्य विपद्को पूर्वसूचना प्रवाह भइरहेको छ ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रवाह हुने यस प्रकारको पूर्वसूचनाबाट लाखौं व्यक्तिहरु लाभान्वित भएका र भविष्यमा समेत लाभान्वित हुने कम्पनीको अपेक्षा छ ।