काठमाडौं । जारी फिफा विश्वकप २०२६ अन्तर्गत दोस्रो सेमिफाइनल खेल आज (नेपाली समय अनुसार राति १२ः४५ बजे) एट्लान्टा स्टेडियममा हुँदैछ ।
फाइनल प्रवेशका लागि लियोनेल मेस्सीको नेतृत्वमा रहेको साविक विजेता अर्जेन्टिना र ह्यारी केन नेतृत्वको इंग्ल्यान्ड दोस्रो विश्वकप फाइनल यात्रा तय गर्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।
अर्जेन्टिना र इंग्ल्यान्ड दुई दशकपछि विश्वकपको सेमिफाइनलमा आमनेसामने हुन लागेको हो । उनीहरु यसअघि विश्वकपको पाँच खेलमा आमनेसामने भइसकेका छन् । त्यसमा इंग्ल्यान्डले तीन खेल जितेको छ भने अर्जेन्टिनाले पेनाल्टीबाट निर्णय भएको एक खेलसहित दुई खेलमा जित हात पारेको छ ।
यी दुई टोलीबीचको भिडन्त विश्वकपको सबैभन्दा पुरानो प्रतिद्वन्द्वितामध्येको एक पनि हो ।
इंग्ल्यान्ड र अर्जेन्टिना पहिलोपटक सन् १९६२ को विश्वकपमा आमनेसामने भएको थियो । त्यसपछि सन् १९६६ को विश्वकपमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको क्वार्टरफाइनल खेल निकै तनावपूर्ण थियो, जसले फुटबलमा एउटा ऐतिहासिक प्रतिद्वन्द्वितालाई स्थापित गर्यो । यो खेल विशेष गरी अर्जेन्टिनी कप्तान एन्टोनियो राटिनलाई मैदानबाट बाहिर पठाइँदाको अस्तव्यस्त घटनाका लागि चर्चित छ । इंग्ल्यान्डले उक्त खेल १–० ले जितेको थियो ।
त्यसपछि सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाको ह्यान्ड अफ गड गोल र उनको उत्कृष्ट एकल प्रयासले इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाका लागि अविस्मरणीय जित सुनिश्चित गरेको थियो । अर्जेन्टिनाले नै उक्त विश्वकपको उपाधि जितेको थियो ।
सन् १९९८ मा डेभिड बेकह्यामले पाएको रेड कार्डले अर्को विवाद निम्त्याएको थियो । तर सन् २००२ मा भने उनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई जित दिलाए र चार वर्षअघिको त्यो घटनाको हिसाब चुक्ता गरेका थिए । अब, फेरि एकपटक यी दुई टोली विश्वकपमा आमनेसामने हुन लागेका हुन् ।








प्रतिक्रिया