–मनिषा बस्नेत
काठमाडौं । माइतीघरको सडकमा दिनभर मानिसहरूको आवतजावत चलिरहन्छ । तर कोही आफ्ना मागसहित आउँछन्, कोही आवाज उठाउन सडक रोज्छन् । माइतीघर मण्डला परिसरमा प्रायः मागसहितका ब्यानर र प्ले कार्ड छुट्दैन् ।
घामपानीबाट जोगिन लगागार टेन्ट लगाइएको छ । त्यही टेन्टमा बसेर एक महिला आफ्नो पीडा सुनाइरहेकी छन् ।

आँखामा पीडा र आवाजमा आक्रोश लिएर उनी न्यायका लागि माइतीघरमा उत्रिएकी हुन् । उनी हुन् मोरङ सुन्दरहरैचा–७ की देविका खनाल ।
दुर्घटनापछि आफ्नो जीवन नै परिवर्तन भएको बताउने खनाल अहिले न्यायको माग गर्दै काठमाडौंको सडकबाट न्याय खोजिरहेकी छिन् ।
२०८१ साल फागुन २२ गते सुनसरीको रामधुनी नगरपालिका–३ मा भएको दुर्घटनाले देविकाको जीवनको बाटो नै बदलिदियो ।
देविकाका अनुसार दुर्घटना गराउने व्यक्ति इनरुवा नगरपालिका–६ का वडा अध्यक्ष सुमन थापा हुन् । उनले दुर्घटनापछि आफूलाई आवश्यक उपचार नगराएको, घटनाको जिम्मेवारीबाट पन्छिएको र आफूलाई अपाङ्ग अवस्थामा पुर्याएर बेवास्ता गरेको आरोप लगाएकी छन् ।
सामान्य जीवन बिताइरहेकी उनी अहिले हिँड्न नसक्ने अवस्थामा पुगेकी छन् । उनका अनुसार दुर्घटनापछि कम्मरदेखि तलको भागमा गम्भीर चोट लागेको छ । पटक–पटक शल्यक्रिया गरिए पनि पूर्ण रूपमा निको हुन नसकेको उनको भनाइ छ ।

खनालले दुर्घटना आफैंमा कसैको नियन्त्रणमा नहुने भए पनि दुर्घटनापछि देखाइने जिम्मेवारी र व्यवहार महत्वपूर्ण हुने बताइन् ।
‘दुर्घटना जसलाई पनि पर्न सक्छ । सडकमा हिँड्दा दुर्घटना हुन सक्छ । तर गल्ती भइसकेपछि त्यसको सामना गर्नुपर्छ । पीडितको उपचार र हेरचाहको जिम्मेवारी लिनुपर्छ,’ उनले भनिन् ।
उनका अनुसार दुर्घटनापछि वडा अध्यक्ष थापा केही समय सम्पर्कमा आए पनि अहिले उपचार र आवश्यक सहयोगबाट टाढिएको उनको आरोप छ ।
सहारा भनेकै छोरी मात्र
देविकाको जीवनमा दुर्घटना आउनुअघि पनि संघर्ष कम थिएन । उनी एकल महिला हुन् । घरको जिम्मेवारी, छोरीको भविष्य र आफ्नो उपचारको चिन्ता अहिले उनको काँधमा छ ।
उनले आफ्नो १३ वर्षीया छोरीको पढाइ र भविष्यप्रति सबैभन्दा ठूलो चिन्ता रहेको बताइन् ।
‘म एकल महिला हुँ । मेरो एउटा छोरी छिन् । आमा हुनुहुन्छ । मेरो खुट्टा चलेन भने परिवार कसरी चलाउने भन्ने चिन्ता छ,’ उनले भनिन् ।
उनका अनुसार दुर्घटनापछि उनी आर्थिक रूपमा समेत कमजोर बनेकी छन् । काम गरेर परिवार चलाउँदै आएकी उनी अहिले अरूको सहयोगमा निर्भर हुनुपरेको बताउँछिन् ।
‘म काम गरेर खाने मान्छे हुँ । मेरो शरीर नै काम गर्न नसक्ने भएपछि मेरो परिवारको अवस्था के हुन्छ, मेरो छोरीलाई कसरी पढाउने ?’ उनले प्रश्न गरिन् ।
देविकाले आफूले कुनै ठूलो रकमको माग नगरेको बताइन् । उनको मुख्य माग उपचार र दोषीमाथि कानुनी कारबाही रहेको छ ।
उनका अनुसार दुर्घटनापछि मिलापत्रका लागि पाँच लाख रुपैयाँको प्रस्ताव आएको थियो । तर उनले उक्त रकम आफ्नो जीवनको क्षतिसँग तुलना गर्न नसकिने बताइन् ।
‘मेरो जिन्दगी पाँच लाख रुपैयाँ होइन । स्वास्थ्य राम्रो भयो भने आफैं कमाउन सक्छु । तर शरीर नै बिग्रियो भने त्यो पैसाले के गर्छ ?’ उनले भनिन् ।
उनले आफूलाई आवश्यक पर्ने उपचार सुनिश्चित हुनुपर्ने र भविष्यमा बाँच्न सक्ने आधार तयार गरिनुपर्ने माग राखेकी छन् ।
कानुन गरिब र धनीका लागि बराबर हुनुपर्छ
देविकाले आफूले प्रहरी प्रशासनदेखि विभिन्न निकायसम्म न्यायका लागि पुगे पनि अपेक्षित सहयोग नपाएको गुनासो गरिन् ।
उनका अनुसार दुर्घटनापछि सुरुमा जाहेरी दर्ता गर्नसमेत समस्या भएको थियो । उच्च अदालत मोरङ पुगेपछि अदालतको आदेशमार्फत मात्रै मुद्दा प्रक्रिया अघि बढेको उनको भनाइ छ । उनले कानुन सबैका लागि बराबर हुनुपर्ने बताइन् ।
‘गरिब र धनीका लागि कानुन एउटै हुनुपर्छ । पैसा र पहुँच भएकाले न्याय पाउने र कमजोर मानिसले संघर्ष गर्नुपर्ने अवस्था हुनुहुँदैन,’ उनले भनिन् ।
देविकाका अनुसार गत चैत ३० गते दुई पक्षबीच छलफल भएर केही विषयमा सहमति भएको थियो । उक्त सहमतिमा उपचार खर्च, आगामी उपचार र छोरीको शिक्षाको विषय समेटिएको उनको भनाइ छ । तर सम्झौता कार्यान्वयन नभएको उनले आरोप लगाइन् ।
उनले भनिन्, ‘सम्झौतामा अहिलेसम्म लागेको बिल तिर्ने, वैशाख १० गतेसम्म अस्पताल लगेर पूर्ण उपचार गर्ने र छोरीलाई १२ कक्षासम्म पढाउने कुरा भएको थियो। तर त्यो कार्यान्वयन भएन ।’
उनले आफूलाई सम्झौतामा हस्ताक्षर गराउनुअघि पीडितको रूपमा पर्याप्त जानकारी र सहमति लिनुपर्ने बताइन् ।
‘म नै पीडित हुँ, मेरो जीवनसँग सम्बन्धित विषयमा मेरो कुरा नसुनी निर्णय हुनुहुँदैन,’ उनले भनिन् ।
माइतीघरमा बसेकी देविकाले आफू राज्यसँग लड्न नभई राज्यबाट न्याय खोज्न आएको बताइन् ।
उनका अनुसार गृहमन्त्री सुधन गुरुङले आफूलाई न्याय दिलाउने आश्वासन दिएका छन् । त्यसैको भरोसामा आफू बसेको उनले बताइन् ।
‘म विरोध गर्न आएको होइन । म न्याय माग्न आएको हुँ । एउटा अपराधीलाई अनुसन्धान गरेर सत्य–असत्य छुट्याइदिनुपर्छ । राज्यले अपराधी र पीडित छुट्याउनुपर्छ,’ उनले भनिन् ।
उनले दोषीमाथि अनुसन्धान गरेर सत्य बाहिर ल्याउनुपर्ने माग गरिन् ।
देविकाले आफू माइतीघरमा जीवन समाप्त गर्न नभई न्याय पाउन आएको बताइन् । शारीरिक पीडा, आर्थिक समस्या र मानसिक तनावबीच पनि न्यायको आशा नछाडेको उनको भनाइ छ ।
‘म मर्न आएको होइन । म न्याय माग्न आएको हुँ,’ उनले भनिन् । उनले आफ्नो जस्तो अवस्था अरू कसैको नहोस् भन्ने उद्देश्यले पनि आवाज उठाइरहेको बताइन् ।
देविका अहिले उपचार, कानुनी प्रक्रिया र राज्यको निर्णयको प्रतीक्षामा छन् । दुर्घटनाले रोकिएको आफ्नो जीवन फेरि सामान्य बनाउने उनको चाहना छ ।
उनको माग एउटै छ– पूर्ण उपचार, निष्पक्ष अनुसन्धान र न्याय । यता, वडा अध्यक्ष सुमन थापाको पक्षबाट भने यस विषयमा आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।







प्रतिक्रिया