९ श्रावण २०८३, शनिबार

नेपाल टेलिकमकी प्रबन्ध निर्देशकमा अर्यालको पुनर्बहाली

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की तत्कालीन प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली भएकी छिन् ।

नेपाल टेलिकमले विज्ञप्ति जारी गर्दै प्रबन्ध निर्देशक अर्यालमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्ण सफाइ पाएपछि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको (मन्त्रीस्तरीय) २०८३ असार २६ गतेको निर्णयअनुसार उनको निलम्बन फुकुवा गरिएको जानकारी दिएको हो । सोही निर्णयबमोजिम उनी पुनः प्रबन्ध निर्देशकको जिम्मेवारीमा फर्किएको टेलिकमले जनाएको छ ।

पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कसैले डराउन नपर्ने बताइन् । विगतमा कर्मचारीहरूमाथि लागेको आरोप र भ्रम अन्ततः हटेर सत्य स्थापित भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिका बेला संस्थालाई कुशल नेतृत्व र सहयोग प्रदान गर्ने सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरिन् ।

उनले कम्पनीमा प्रक्रियागत सुधार आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा आन्तरिक व्यवस्थापनसँगै बाह्य सरोकारलाई पनि ध्यानमा राखेर काम गरिने धारणा राखेकी छिन् । साथै नेपाल सरकारको नीति, भावना र मार्गनिर्देशनअनुसार सत्यनिष्ठ र अविचलित रूपमा काम गर्दै नेपाल टेलिकमप्रतिको जनविश्वास र बजारको साख अझ सुदृढ बनाउने तथा सेवालाई थप ग्राहकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाल टेलिकमले आफ्ना ग्राहक, सरोकारवाला तथा आम नागरिकलाई गुणस्तरीय दूरसञ्चार सेवा प्रदान गर्दै कानुनी शासनको मर्यादा कायम राख्ने र देशको दूरसञ्चार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न निरन्तर प्रतिबद्ध रहेको जनाएको छ।

Skip This