५ श्रावण २०८३, मंगलबार

पेन्सन निकाल्न बैंक गएका ई–रिक्सा चालकको खातामा देखियो ७ अर्ब ६० करोड

11.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको बिहारमा एउटा अनौठो बैंकिङ घटनाले सबैलाई अचम्ममा पारेको छ ।

सामाजिक सुरक्षा पेन्सन निकाल्न बैंक पुगेका एक ई–रिक्सा चालकले मोबाइलमा आएको बैंकको सन्देश हेर्दा आफ्नो खातामा करिब ७ अर्ब ६० करोड (७ अर्ब ५९ करोड ६९ लाख ५१ हजार ९५१.१६) भारतीय रुपैयाँ मौज्दात देखेपछि उनी आफैं चकित परेका हुन् ।

गत शनिबारको यो घटना बिहारको गया सहरस्थित बागेश्वरीका शिवकुमार पटेलको हो ।

भारतीय सञ्चारमाध्यम एनडीटिभी इन्डियाका अनुसार दैनिक ई–रिक्सा चलाएर परिवार पाल्दै आएका शिवकुमार सामाजिक सुरक्षा पेन्सनका लाभग्राही हुन् । उनले आधारमा आधारित बैंकिङ सेवामार्फत खाताबाट १ हजार भारतीय रुपैयाँ निकालेका थिए । रकम निकालेको केही समयमै बैंकबाट आएको एसएमएसमा खाताको उपलब्ध मौज्दात करिब ७ अर्ब ६० करोड भारतीय रुपैयाँ देखिएपछि शिवकुमार मात्र होइन, बैंकका कस्टमर सर्भिसका कर्मचारी समेत अचम्ममा परे ।

घटनापछि सेन्ट्रल बैंक अफ इन्डियाका अधिकारीहरूले यसलाई सम्भावित प्राविधिक त्रुटि भएको अनुमान गर्दै अनुसन्धान पूरा नभएसम्म खाताबाट कुनै पनि कारोबार नगर्न शिवकुमारलाई निर्देशन दिएका छन् । बैंकले मोबाइल बैंकिङ वा खातासँग सम्बन्धित कुनै पनि परिवर्तन नगर्न पनि भनेको छ ।

उता, यो अनौठो खबर बागेश्वरीबाट फैलिँदै पूरै बिहारभर चर्चाको विषय बनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । पछिल्लो दिनहरुमा शिवकुमारको घरमा मानिसहरूको भीड लाग्न थालेको छ ।

कतिपयले यसलाई बैंकिङ प्रणालीको गडबडी भनेका छन् भने धेरैले उनलाई हाँसी–ठट्टामै ‘अरबपति शिव पटेल’ भन्न थालेका छन् । बैंकले भने प्राविधिक अनुसन्धानपछि मात्रै वास्तविकता सार्वजनिक हुने जनाएको छ ।