४ श्रावण २०८३, सोमबार

जाजरकोटमा पहिरोले अस्थायी टहरा पुरिँदा महिलाको मृत्यु, छोरी र नातिनीको उद्धार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट । जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको भेरी नगरपालिका– २ राङ्सी निवासी ६० वर्षीया जयशिला शाहको पहिरोमा परी मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति परेको निरन्तर वर्षापछि आएको पहिरोले २०८० साल कात्तिक १७ गतेको भूकम्पपछि निर्माण गरिएको अस्थायी टहरा पुरेको थियो ।

टहराभित्र रहेकी शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परेकी शाहकी ४० वर्षीया छोरी मेनुका शाह थापा र सात वर्षीया नातिनी टिका थापालाई भने स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा सकुशल उद्धार गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।