काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सरकारलाई प्रश्न सोध्न पाउनु आम नागरिकको नैसर्गिक अधिकार भएको बताएका छन् ।
होल्डिङ सेन्टरमा सुकुम्बासीको बिचल्ली पारेको र जवाफ माग्दा युवालाई बलपूर्वक नियन्त्रणमा लिइएको उनले आपत्ति जनाएका हुन् ।
‘झन् दुःखद् र लज्जास्पद कुरा, त्यही होल्डिङ सेन्टरमा पुगेर पीडितहरूको अवस्था बुझ्न र सरकारसँग जवाफ माग्न खोज्ने युवाहरू माजिद अन्सारीसहितलाई बलपूर्वक नियन्त्रणमा लिइयो। म सोध्न चाहन्छु- लोकतान्त्रिक व्यवस्थामा प्रश्न सोध्नु कहिलेदेखि अपराध बन्यो’, उनले लेखेका छन्। सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले अझ भयावह जोखिममा धकेलेको उनको भनाइ छ ।
उनले सुकुमवासीको सुरक्षित व्यवस्थापन गर्ने भनेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गरेको सार्वजनिक प्रतिबद्धताप्रति पनि प्रश्न उठाएका छन्।
‘प्रधानमन्त्रीजीले गरेको एउटा सार्वजनिक प्रतिबद्धता आज पनि सम्झिन्छु-‘ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ।’ आज म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु- त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित र व्यवस्थित व्यवस्थापन’, आङ्देम्बेले आइतबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्।








प्रतिक्रिया