काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा स्विट्जरल्यान्डका ब्रिल एम्बोलोलाई ७२ औं मिनेटमा रातो कार्ड देखाइएको थियो । उनी दोस्रो पहेँलो कार्डपछि मैदानबाट बाहिरिएका हुन् । उनले पेनाल्टी क्षेत्रभित्र डाइभ गरेका थिए । त्यसपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भएको थियो ।
निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुई गोल थप्दै अर्जेन्टिनाले जित सुनिश्चित गरेको हो ।
खेलको १० औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलबाट अर्जेन्टिनाले सुरुवाती अग्रता लिएको थियो । कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नर बललाई एलिस्टरले हेडमार्फत उत्कृष्ट गोलमा परिणत गरेका थिए । सोही गोलको मद्दतले पहिलो हाफसम्म अर्जेन्टिना १–० ले अगाडि रहेको थियो ।
दोस्रो हाफको ६७ औं मिनेटमा स्विट्जरल्यान्डका डान एनडोये गोल गर्दै खेललाई १–१ बराबरी गोल फर्काए । त्यसपछि निर्धारित समयमा थप गोल हुन सकेन ।
अतिरिक्त समयको खेलको ११२ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । १२० प्लस १ मिनेटमा लाउटारो मार्टिनेजले अर्को गोल थप्दै अर्जेन्टिनाको ३–१ को जित पक्का गरे ।
अब लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । दुवै टोली फाइनलमा स्थान बनाउन आमनेसामने हुनेछन् ।








प्रतिक्रिया