मुगु । काठमाडौं त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्दा मृत्यु भएका २५ वर्षीय गणेश नेपालीको गाउँ शोकमा डुबेको छ । उनी जन्मिएको घर सुनसान छ । मुगुको सोरू गाउँपालिका–१ सदरमुकाम गमगढीबाट गाडीमा करिब ६ घण्टा लाग्छ । उनको निधनको खबरले गाउँ जलधारा शोकमग्न भएको छ ।
गाउँमा रोजीरोटी कठिन भएपछि परिवारको साथ गणेश भक्तपुरमा बस्दै आएका थिए । राइड सेयरिङ अर्थात् पठाओको सेवा दिएर आफू र परिवारको पालनपोषण गर्दै आइरहेका थिए ।

स्थानीय पदमबहादुर मल्लका अनुसार गणेशको पारिवारिक अवस्था कमजोर रहेको औँल्याउँदै पठाओका लागि प्रयोग भइरहेको मोटरसाइकल पनि भाडामा लिएको जानकारी छ । यस्तो अवस्थामा उनको परिवारलाई राज्यले उचित रेखदेख गर्नुपर्ने मल्लले बताए ।
अर्का स्थानीय सुरेश शाहीका अनुसार गणेशको परिवार न्यून स्तरको भएको र आयस्तर कमजोर रहेको बताए । गणेशको जग्गाजमिन पनि थोरै रहेको र हाल बाँझो अवस्थामा रहेको उनले सुनाए । उनले गणेशको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै राज्य छ भन्ने अनुभूति हुनुपर्ने औँल्याए ।

गरिबीकै कारण गणेशको निधन भएपछि आफूहरू मर्माहत एवम् शोकाकुल भएको मल्ल र शाहीले बताए ।
भक्तपुरमा डेरा गरी परिवारका साथ बस्दै आएका गणेश राइड सेयरिङ एपमार्फत राइडरको काम गर्थे । प्रत्यक्षदर्शीका अनुसार बिहीबार उनले रोकिराखेको मोटरसाइकलमा काठमाडौं महानगर प्रहरीले ह्विल लक लगाएर लैजाने प्रयास गरेपछि विवाद भएको थियो ।
महानगर प्रहरीको ज्यादती र विवाद सहन नसकी उनले राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए । आगो लागेपछि गणेशलाई वीर अस्पताल पुर्याइएको थियो ।
उपचारका क्रममा शुक्रबार बिहान गणेशको निधन भएको हो । शुक्रबार बिहान चिकित्सकहरूले गणेशको अवस्था चिन्ताजनक रहेको र थप उपचारका लागि नयाँ दिल्ली रिफर गर्ने तयारी गरिए पनि स्वास्थ्य अवस्था थप बिग्रने खतराका कारण रोक्नुपरेको जानकारी दिएको थियो । त्यसको केही बेरमै उनको निधन भएको थियो ।








प्रतिक्रिया