काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबको औपचारिक उद्घाटन गरेको छ ।
आज एक कार्यक्रमका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायले कफी लाउन्जसहितको डिजिटल हब रहको कार्यालय भवनको उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत लगायतका उच्च व्यवस्थापन समितिका पदाधिकारीहरु र बैंक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकका अनुसार डिजिटल बैंकिङ सेवालाई आधुनिकीकरण, सुरक्षित, प्रविधि तथा ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको नीतिलाई निरन्तरता दिँदै बैंकिङ सेवामा नविनतम् अवधारणाको प्रयोगको रुपमा कफी लाउन्जको सुविधा समेत थप गरिएको हो । जसअन्तर्गत ग्राहकले आरमदायी वातावरणमा बसेर नगद रकम जम्मा गर्ने, चेक क्लियरिङ गर्ने, नगद झिक्ने तथा अन्य विद्युतीय कारोबारहरुको विशिष्ट अनुभव लिन सक्नेछन् । नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको सेवा प्रदान गर्नेमा महालक्ष्मी विकास बैंक सम्भवत: पहिलो बैंक रहेको छ ।
डिजिटल प्रविधिको प्रयोगमा युवाहरुलाई आकर्षित गर्न तथा ग्राहकहरु माझ पहुँच विस्तार गर्न सञ्चालनमा ल्याइएको यस कफी लाउन्जसहितको डिजिटल हबमार्फत डिजिटल बैंकिङ सेवासम्बन्धी परामर्श समेत प्रदान गरिने भएकाले ग्राहकहरुको लागि सिकाई र अनुभवको केन्द्र बन्ने अपेक्षा बैंकले लिएको छ ।







प्रतिक्रिया