काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका २५ वर्षीय गणेश नेपालीले बिहीबार दाई मदन नेपालीसँग अन्तिम संवाद गरे ।
गणेशले शुक्रबार बिहान उपचारका क्रममा वीर अस्पतालमा प्राण त्यागेका छन् । आज गणेशको निधन हुनुअघि वीर अस्पतालले गरेको पत्रकार सम्मेलनमा दाई मदनले भाईसँगको अन्तिम कुराकानी स्मरण गरेका थिए ।
गणेशले दाई मदनसँग आफ्नो गल्ती नभएको बताएका थिए । मदनका अनुसार दिउसो साढे दुई बजे प्रहरीले फोन गरेपछि उनी तीन बजे वीर अस्पताल पुगेका थिए । उनी पुग्दा भाई गणेशको अवस्था गम्भीर थियो । उनी अलिअलि मात्रै बोलिरहेका थिए ।
गणेशले दाईलाई देख्दै बित्तिकै सुरूमा बुबाआमालाई सम्झिएर उनीहरूलाई राम्रो गर्न दाईलाई अनुरोध गरेका थिए ।
‘दुई-चार वटा शब्द उसले बोल्यो । ‘दाई बाबा-मम्मीलाई राम्रो गर्नुस्’ भनेको भन्यै,‘ दाई मदनले भने । त्यसपछि गणेशले आफ्नो गल्ती नभएको पनि बताए ।
‘दाई मेरो गल्ती थिएन है, दाई मेरो गल्ती थिएन है’ भनेर दुईचोटि भन्यो । मैले ‘कसको के भएको हो ?’ भनेँ । ‘मेरो गल्ती थिएन, त्यो ह्वील लक लायो, ह्वील लक लाउँदा-लाउँदै अनि ट्राफिक आएर ऊ गर्यो’ भन्यो,’ मदनले भने ।
त्यति भन्ने बित्तिकै गणेशको बोलि बन्द भएको थियो ।








प्रतिक्रिया