३० असार २०८३, मंगलबार

एमाले पुनर्गठनको खाका तयार गर्न उपाध्यक्ष थापा र महासचिव पोखरेललाई जिम्मेवारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) ले पार्टी पुनर्गठन अभियानलाई निष्कर्षमा पुर्‍याउने तयारीस्वरूप मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेललाई दिएको छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकले देशभरबाट संकलित सुझावलाई आधार बनाएर प्रतिवेदन तयार गर्ने निर्णय गरेको हो।

बैठकपछि महासचिव पोखरेलले सार्वजनिक गरेको निर्णयअनुसार पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा अझ सुदृढ र एकीकृत बनाउने उद्देश्यसहित पुनर्गठनको विस्तृत कार्ययोजना तयार गरिनेछ। यस अभियानमार्फत पार्टी शुद्धीकरण, संगठन सुदृढीकरण र रूपान्तरणका विषयलाई प्राथमिकतामा राखिने जनाइएको छ।

कार्यदलले देशका १३ स्थानमा सञ्चालन गरिएको सुझाव सङ्कलन अभियान सफल भएको निष्कर्ष निकाल्दै त्यसक्रममा प्राप्त भएका धारणा, सुझाव र अनुभवलाई समेटेर समग्र प्रतिवेदन तयार गरिने जनाएको छ। बैठकले सुझाव सङ्कलन कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने सम्बन्धित कमिटी र कार्यक्रममा सहभागी भई रचनात्मक सुझाव दिने नेता–कार्यकर्ताप्रति आभारसमेत व्यक्त गरेको छ।

यसैबीच, बैठकले सुझाव सङ्कलन अभियानकै क्रममा पार्टीका उपाध्यक्ष तथा कार्यदल सदस्य विष्णु पौडेललाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको दाबी गर्दै त्यसप्रति आपत्ति जनाएको छ। एमालेले उक्त घटनाको निन्दा गर्दै पौडेललाई अविलम्ब रिहा गर्न सरकारसँग माग गरेको छ।

बैठकको निर्णयअनुसार अब उपाध्यक्ष थापा र महासचिव पोखरेलले देशभरबाट आएका सुझाव, निर्वाचनको समग्र समीक्षा तथा पार्टीलाई आगामी दिनमा आवश्यक पर्ने वैचारिक, राजनीतिक र संगठनात्मक सुधारका प्रस्ताव समेटिएको मस्यौदा प्रतिवेदन तयार गर्नेछन्।

एमालेले सो प्रतिवेदनलाई आधार बनाएर आगामी दिनमा पार्टी पुनर्गठन अभियानलाई थप योजनाबद्ध, प्रभावकारी र परिणाममुखी ढंगले अघि बढाउने तयारी गरेको जनाएको छ।