३१ असार २०८३, बुधबार

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुराको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिकाभित्र रहेका छ वटा सामुदायिक माध्यमिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ ।

बैंकको गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवद्र्धन गर्ने, विद्यार्थीहरूको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ । भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयहरूमा यस सहयोगले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यस कार्यक्रमअन्तर्गत निम्न विद्यालयहरू लाभान्वित भएका छन्ः

मानाकोट माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–५, बाजुरा

जनज्योति माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–२, बाजुरा

अम्लिश माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–१, बाजुरा

फूलपाता माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–२, बाजुरा

किर्तिचौर माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–६, बाजुरा

बालविकास माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–३, बाजुरा

कुमारी बैंकले शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार भएको विश्वास गर्दै ग्रामीण तथा शहरी क्षेत्रबीच रहेको शैक्षिक अवसर र स्रोत–साधनको असमानतालाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले उपलब्ध गराएको स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीहरूलाई डिजिटल सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्न सहयोग पुग्ने विश्वास लिएको छ । यसबाट दुर्गम क्षेत्रका विद्यार्थीहरूले पनि शहरी क्षेत्रका विद्यार्थीसरह प्रविधिमैत्री सिकाईको अवसर प्राप्त गरी गुणस्तरीय शिक्षामा समान पहुँच हासिल गर्नसक्ने अपेक्षा गरिएको छ ।

‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । शिक्षा क्षेत्रमा गरिएको यस सहयोगले भविष्यका पुस्ताहरुलाई डिजिटल युगअनुकूल ज्ञान र सीप हासिल गर्न प्रेरित गर्नुका साथै स्थानीय स्तरमा शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका २८६ शाखा, ४१ विस्तार काउन्टर, ३०४ एटीएम, ४० शाखारहित बैंकिङ्ग इकाइमार्फत लाखौं ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।