काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ मा लोकप्रिय कमेडियन प्रभात लामा मुख्य भूमिकाका लागि अनुबन्धित भएका छन् ।
टेलिभिजन, डिजिटल प्लेटफर्म तथा विभिन्न मञ्चमार्फत लाखौं दर्शकलाई आफ्नो कमेडी प्रस्तुत गर्दै लोकप्रियता हासिल गरेका प्रभात लामा यस चलचित्रमार्फत पहिलोपटक नायकको भूमिकामा देखिन लागेका हुन् । उनको अभिनयले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने विश्वास निर्माण टिमले लिएको छ ।
फिल्ममा अनुबन्धित भएपछि प्रभातले चलचित्र अभिनयलाई लिएर निकै उत्साहित रहेको बताएका छन् । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रको छायाङ्कन यही सातादेखि सुरु हुने तयारी गरिएको छ ।
चलचित्रका निर्माता रघुनाथ सापकोटा हुन् । निर्माता सापकोटाका अनुसार चलचित्रमा नेपाली मनोरञ्जन क्षेत्रका अन्य चर्चित तथा लोकप्रिय कलाकारहरूको पनि सशक्त उपस्थिति रहनेछ ।
चलचित्रमा चर्चित गायक पशुपति शर्माका गीत समावेश हुनेछन् भने छायाङ्कनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन् । यसअघि नै चलचित्रका लागि चर्चित गायक पशुपति शर्मा, गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्त तथा कलाकार समिया कार्की मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् ।
पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ दर्शकलाई हाँसो, मनोरञ्जन र नयाँ स्वाद प्रदान गर्ने उद्देश्यका साथ निर्माण गर्न लागिएको निर्देशक अमरदीप सापकोटाले बताएका छन् ।








प्रतिक्रिया