२५ असार २०८३, बिहिबार

‘हामी बालेनको पुलिस होइन’ भनेका डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कैलालीको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिपछि स्पष्टीकरणका लागि जिल्ला प्रहरी कार्यालय बोलाइएको छ ।

घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागुऔषधसम्बन्धी सचेतना कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को नाम लिएर डीएसपी चौधरीले भनेका थिए, ‘हामी बालेनको पुलिस पनि होइनौँ, नेपाल पुलिस हो । अन्याय र अत्याचारमा परेकालाई न्याय दिलाउने पुलिस हो । केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो । त्यसकारण हामी नेपाल पुलिस हो ।’

उनले आफ्नो भनाइ मन परे ताली बजाउन आग्रह गरेपछि कार्यक्रममा सहभागी विद्यार्थीहरूले ताली बजाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

कार्यक्रममा उनले नेपाल प्रहरी राजनीतिक प्रभावबाट नभई प्रतिस्पर्धात्मक प्रक्रियाबाट आएको संस्था भएको उल्लेख गर्दै, ‘हामी भोट हालेर, टीका लगाएर वा दारु–भात खाएर आएका होइनौँ’ पनि भनेका थिए ।

कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले डीएसपी चौधरीलाई सोधपुछका लागि जिल्ला बोलाइएको पुष्टि गरेका छन् । उनका अनुसार हाल औपचारिक कारबाही सुरु गरिएको नभई उक्त अभिव्यक्ति कुन सन्दर्भमा र किन दिइएको थियो भन्ने विषयमा प्रारम्भिक जानकारी लिने उद्देश्यले बोलाइएको हो ।