२९ असार २०८३, सोमबार

इरान–अमेरिका युद्धविराम टुट्यो, इरानमा आज राति ठूलो आक्रमण गर्ने ट्रम्पको दाबी, इरानले के भन्यो ?

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिका र इरानबीचको युद्धविराम समाप्त भएको छ ।

नेटो शिखर सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँगै पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज राति फेरि इरानमाथि ठूलो आक्रमण गर्ने बताएका हुन् ।

‘हामीले मंगलबार राति उनीहरूलाई धेरै कडा प्रहार गर्यौं, धेरै कडा ।’ उनले भने, ‘अमेरिकाले आज राति फेरि उनीहरूलाई कडा प्रहार गर्नेछ ।’

उनका अनुसार अमेरिकाले इरानको सबैभन्दा मुख्य र रणनीतिक तेल निर्यात टर्मिनल खर्ग टापु कब्जा गर्न सक्छ । यस विषयमा इरानले केही पनि गर्न नसक्ने ट्रम्पको दाबी छ ।

ट्रम्पले फेरि दोहोर्‍याए, ‘आज राति ठूलो आक्रमण हुनसक्छ ।’

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पनि ठूलो आक्रमण भएमा इरानको भित्री भू–भागका क्षेत्रहरूलाई निशाना बनाइने उल्लेख गरेका छन् ।

अमेरिकाले मंगलबार अबेर राति इरानका ८० भन्दा बढी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको थियो ।

अमेरिकी सेन्ट्रल कमान्डका अनुसार, हर्मुजमा रहेका जहाजहरूमाथि भएका आक्रमणको जवाफमा उक्त कारबाही गरिएको हो ।

यसैबीच, इरानको संसदका सभामुख मोहम्मद बागेर घालिबाफले ट्रम्पका टिप्पणीहरुको उचित जवाफ दिइने चेतावनी दिएका छन् । इरानी सञ्चारमाध्यमहरुका अनुसार इरानको विदेश मन्त्रालयले पनि अमेरिकी आक्रमणहरू सम्झौताको ठाडो उल्लंघन भएको भनेको छ । यसले थप वार्ताको बाटोलाई अझ कठिन बनाएको उसले जनाएको छ ।

यस्तै, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले पनि ट्रम्पका धम्कीहरूको निन्दा गरेको इरानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।