काठमाडौं । पाकिस्तानको एक कार्गो विमान बेपत्ता भएको छ । उक्त विमान मंगलबार राति ९:१८ बजे अरब सागरमाथि बेपत्ता भएको हो ।
संयुक्त अरब इमिरेट्स (युएई)को शारजाहबाट उडान भरेको विमान पाकिस्तानको कराँची जाँदै थियो ।
बीबीसी उर्दू सेवाका अनुसार विमानमा चालक दलका पाँच सदस्य सवार थिए । हालसम्म विमान बेपत्ता हुनुको कारण वा चालक दलका सदस्यहरूबारे कुनै जानकारी प्राप्त भएको छैन ।
पाकिस्तानी वायुसेना र नौसेनाले विमानको खोजी क्षेत्रमा थप जहाज तथा विमानहरू परिचालन गरेको छ । नौसेनाले खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन पीएनएस जुल्फिकार युद्धपोत समेत परिचालन गरेको छ ।
पाकिस्तानको विमानस्थल प्राधिकरणले कराँचीबाट करिब ३०० किलोमिटरको दूरीमा बोइङ ७३७ कार्गो विमानको एयर ट्राफिक कन्ट्रोलसँगको सम्पर्क टुटेको जनाएको छ । उडानका क्रममा नेभिगेसन प्रणालीमा खराबी देखिएको थियो । त्यसपछि विमान तीव्र गतिमा तल झरेको र एयर ट्राफिक कन्ट्रोलरसँगको सम्पर्क विच्छेद भएको थियो ।
पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार, प्राविधिक खराबीको जानकारी प्राप्त भएपछि स्थानीय हवाई ट्राफिक नियन्त्रकहरूले विमानलाई दिशा निर्देशन गर्ने प्रयास गरे तापनि उनीहरू सफल भएनन् । त्यसको केही समयपछि राडार प्रणालीमा विमान तीव्र गतिमा तल झर्दै गरेको देखियो र त्यससँगको सम्पर्क टुट्यो । सो समयमा विमान कराँचीबाट १५५ नटिकल माइल (करिब २८७ किलोमिटर) पश्चिममा थियो ।
प्राधिकरणले हराइरहेको विमानको खोजी गर्न विभिन्न निकायहरूको सहभागितामा समुद्रमा समन्वयात्मक खोज तथा उद्धार अभियान सुरु गरिएको जनाएको छ । खोज टोलीहरूले अहिलेसम्म विमानको भग्नावशेषको कुनै संकेत फेला पारेका छैनन् ।







प्रतिक्रिया