काठमाडौं । इरानमाथि अमेरिकी हवाई आक्रमणपछि बुधबार विश्वव्यापी तेल बजारमा उतारचढाव देखिएको छ ।
रोयटर्सको रिपोर्टका अनुसार इरानविरुद्ध अमेरिकी सेनाले गरेका शृङ्खलाबद्ध आक्रमणहरूपछि कच्चा तेलको मूल्य बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको हो ।
तथ्याङ्कअनुसार ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७६ डलरको विन्दुभन्दा माथि पुगेको छ । बुधबार कच्चा तेलको मूल्य करिब ३ प्रतिशतले बढेर प्रति ब्यारेल ७६.०९ डलर कायम भएको हो । कारोबारको क्रममा यसको मूल्य ७६.२५ डलरसम्म पुगेको छ ।
जुलाई ६ मा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ७२ डलरभन्दा कममा कारोबार भएको थियो । अमेरिकी क्रुडको मूल्यमा भने उकालो लाग्ने क्रम देखिएको छ ।
तथ्याङ्कअनुसार अमेरिकी कच्चा तेल (डब्ल्यूटीआई)को मूल्य ७२.५० डलरको विन्दुभन्दा माथि पुगेको छ । जुलाई ६ यता यसमा प्रतिब्यारेल करिब ४ डलरको वृद्धि भएको छ । हाल यसको मूल्य प्रतिब्यारेल ७२.३७ डलरमा कारोबार भइरहेको छ, जुन करिब ३ प्रतिशतको वृद्धि हो ।
यसैबीच, अमेरिकाले जुलाई १७ देखि लागू हुनेगरी इरानी तेल निर्यातमाथि पुनः प्रतिबन्ध लगाउने घोषणा गरेको छ । यसले विश्व बजार आपूर्तिमा अवरोध आउनसक्ने आशंका बढेसँगै कच्चा तेलको मूल्यमा वृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।








प्रतिक्रिया