काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बर्दियाको बाँसगढी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक ब्रेल शैक्षिक सामग्री उपलब्ध गरेको छ । उक्त सहयोग बैंकको बढैयाताल शाखामार्फत गरिएको हो ।
वि.सं. २०४५ मा स्थापना भएको सामुदायिक विद्यालयमा करिब १,२०० विद्यार्थी अध्ययनरत रहेका छन् । जसमध्ये २० जना दृष्टिविहीन विद्यार्थीहरूले ब्रेल सामग्रीको सहायताबाट अध्ययन गर्दै आएका छन् ।
विद्यालयमा आवश्यक ब्रेल सामग्रीको अभावका कारण विद्यार्थीहरूको अध्ययन–अध्यापनमा कठिनाइ भइरहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले आफ्नो सहयोग उपलब्ध गराएको हो ।
विद्यालयमा आयोजित एक समारोहका बीच बैंकले विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई आवश्यक गुणस्तरका ब्रेल पेपर, ए–ग्रेड ब्रेल स्टाइलस, ए–ग्रेड इन्टरपोइन्ट ब्रेल स्लेट, स्कुल झोला र जज सफ्टवेयर कम्प्युटर लगायत आवश्यक शैक्षिक सामग्री वितरण गरेको हो । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ ईकाइहरुबाट २० लाख ४२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।








प्रतिक्रिया