काठमाडौं । इरानका दिवंगत पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको पार्थिव शरीर सोमबार साँझ तेहरानबाट कोम पुर्याइएको छ ।
यसअघि तेहरानमा लगातार तीन दिन पनि लाखौं जनताहरू शव यात्रामा सहभागी भएका थिए । उनीहरुले खामेनी र उनका दिवंगत परिवारका सदस्यहरूको शव पेटिकामा फूल वर्षाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
इरानी सरकारी टेलिभिजनका अनुसार खामेनीको पार्थिव शरीरलाई हेलिकप्टरमार्फत कोम पुर्याइएको हो । त्यहाँ आज शव यात्रा र धार्मिक विधिहरू सम्पन्न हुने कार्यक्रम छ ।

कोम सहरमा खामेनीले आफ्नो धार्मिक शिक्षा प्राप्त गरेका थिए । यहाँबाट नै खामेनी इरानको सबैभन्दा प्रभावशाली धार्मिक नेताहरूमध्ये एक बनेका थिए ।
कोमलाई शिया मुस्लिमहरूका लागि एक प्रमुख धार्मिक केन्द्र मानिन्छ ।
कोममा शव यात्रापछि खामेनीको पार्थिव शरीरलाई उनको गृहसहर मशहद लगिने इरानी सञ्चारमाध्यमहरुले जनाएको छ ।








प्रतिक्रिया